सोलुखुम्बुमा हिउँले ढाकेका भाग घट्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ ।

दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो । तर हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्रगतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताए ।

विगतमा वर्ष भरी नै सेतो हिउँले ढपक्कै ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमाल अहिले कालो चट्टान र पर्वतका रङ्ग स्पष्ट देखिनु आजभोलिको सामान्य दृश्य जस्तै बनेको छ । सगमाथा क्षेत्र अवलोकनका लागि आउने पर्यटक उक्त अस्वभाविक दृष्य देखेर अच्चमित हुने गर्छन् भने स्थानीयलाई भने सोही दृष्य अब सामान्य जस्तै लाग्न थालेका छन् । अहिले हिउँले ढाकेका भाग घट्दै गएका सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय बताउँछन् ।

हालका वर्षमा मौसमचक्र नै उल्टो भएको स्थानीयको बुझाइ छ । उच्च हिमाली क्षेत्रमा सन् १९७० पछि तापक्रम करिब १।५ डिग्री सेल्सियसले बढेको बताइएको छ ।

खुम्बु क्षेत्रको पर्यटनलाई नेपालको सम्पूर्ण पर्यटन आयको मेरुदण्ड मानिन्छ । त्यही मेरुदण्ड जलवायु सङ्कटका कारण हरेक वर्ष कम्जोर हुँदै गएको छ । फेरिचे, इम्जा र खुम्बु क्षेत्रमा हिमतालको विस्तार तीव्र गतिमा बढेको छ । इम्जा ताल २० वर्षमा ६५ प्रतिशतले ठूलो भएको तथ्यले खुम्बु क्षेत्रमा जलवायु परिवर्तन कति तेज छ भन्ने स्पष्ट सङ्केत दिएको छ ।

इम्जा, थामसेर्कु बेसिन, खुम्बु बेसिनजस्ता क्षेत्र अहिले उच्च जोखिम सूचीमा रहेका बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *