काठमाण्डौँ । आउँदो २१ फागुनमा हुने निर्वाचनमा नेपाली कला क्षेत्रको सक्रियता लोभलाग्दो देखिएको छ।
सुशासन र देश निर्माणको नारा बोकेर थुप्रै कलाकर्मी प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार बनेका छन् । अधिकांश कलाकर्मी राजनीतिक दलबाट नै उम्मेदवार बनेका हुन् ।
चर्चित अभिनेत्री निशा अधिकारी प्रत्यक्षतर्फको उम्मेदवार बनेकी छन् । उनले काठमाडौँ–५ मा गतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उक्त दलकी केन्द्रीय सदस्यसमेत रहेकी निशाको अबको १० वर्ष देशप्रति समर्पित हुने योजना छ। उनले ‘वडा वडामा दिगो रोजगारी’ को मुद्दा अघि सारेकी छन् ।
अभिनेत्री तथा सामाजिक अभियन्ता आशिका तामाङ पनि धादिङ–१ बाट प्रत्यक्ष उम्मेदवार बनेकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । राजनीति मार्फत क्षेत्र र देशको सेवा गर्न उम्मेदवार बनेको उनले बताउँदै आएकी छन् । दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा आफू अघि बढ्ने उनी बताउँछिन्, तर उम्मेदवार भने रास्वपाबाट बनेकी छन् ।
र्यापर तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाह पनि झापा–५ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन् । उनी रास्वपाका तर्फबाट उम्मेदवार बनेका हुन् । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट जितेका उनी रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवार पनि हुन् ।
लोकप्रिय प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक उम्मेदवार बनेकी छन् । सुरुमा कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीबाट राजनीति सुरु गरेकी उनी, उज्यालो र रास्वपा एकता हुँदा दलित महिला क्लस्टरबाट उम्मेदवार बनेकी थिइन् । अहिले उज्यालो र रास्वपाको एकता तोडिए पनि उनी रास्वपा नै छिन् । यही कारण उनलाई अवसरवादी भनेर आलोचना पनि भइरहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्