सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नं–६ गार्मामा रहेको माथिल्लो सोलु जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पूर्वसूचना प्रणाली स्थापना गरेको छ ।
वडा कार्यालयको समन्वय र आयोजनाकै खर्चमा वायरलेस सञ्चार प्रविधिमा आधारित बाढी पूर्वसूचना प्रणाली स्थापना गरिएको हो ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत यागार्थ पोख्रेलका अनुसार यस प्रणालीबाट बाँध स्थानदेखि पावरहाउस क्षेत्रसम्म बसोबास गर्ने बासिन्दाहरूलाई बाढीको सम्भावनाबारे साइरन बजाएर र एसएमएस पठाएर समयमै जानकारी दिन सकिनेछ, जसले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ । उक्त प्रणालीको स्थापनाले स्थानीय बासिन्दाको जनधनको सुरक्षामा सहयोग पुग्ने विश्वास रहेको पोखरेलले बताए ।
आयोजनाका प्लान्ट म्यानेजर शिरिष श्रेष्ठका अनुसार उच्च बाढीको अवस्थामा पूर्वसूचना प्रणाली कसरी सञ्चालन गर्ने भनेर अपरेटरहरूलाई आवश्यक तालिम समेत दिइएको छ ।
बाढी पूर्वसूचना प्रणाली स्थापना गर्ने जिम्मा पाएको परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा।लि। का प्रबन्ध निर्देशक अनुप खनालले उक्त प्रणाली मोबाइल नेटवर्कमा निर्भर नभई वायरलेस सञ्चार प्रविधिमा आधारित भएको बताएका छन् । यस प्रणालीबाट बाढी जोखिम क्षेत्रका बासिन्दाहरुलाई स्वचालित रुपमै एसएमएस. अलर्ट समेत फिल्डबाटै पठाउन सकिन्छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्