सोताङमा आलु पकेट कार्यक्रम प्रभावकारी, ५४ कृषकलाई बीउ र कृषि उपकरण वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

सोलुखुम्बु । सोताङ गाउँपालिकामा सञ्चालन हुँदै आएको आलु पकेट कार्यक्रममार्फत ५४ जना कृषकलाई ६ हजार ४ सय केजी आलुको बीउसहित विभिन्न कृषि सामग्री वितरण गरिएको छ। स्थानीय स्तरमै उत्पादन वृद्धि गर्दै कृषिलाई आत्मनिर्भर र व्यवस्थित बनाउने उद्देश्यका साथ यो कार्यक्रम निरन्तर अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत प्राप्त बजेटबाट सञ्चालन गरिएको यस योजनाले आलु खेतीलाई व्यवसायिक र आधुनिक बनाउने लक्ष्य लिएको छ। कार्यक्रम अन्तर्गत आलु बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ भने सिँचाइ प्रणालीमा ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको छ। एक जना कृषकलाई औसतमा करिब २० पाथी बराबरको आलु बीउ वितरण गरिएको जानकारी दिइएको छ।

कृषकको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिँचाइ तथा कृषि प्रविधिसम्बन्धी सामग्री पनि उपलब्ध गराइएको छ। जसमा ५ सय लिटर क्षमताका हिल ट्यांकी, १६ एमएमका पाइप ५५० मिटर, ५० थान स्प्रिंकलर र ५ लिटर क्षमताका ५० थान स्प्रेयर वितरण गरिएको छ।

सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले कृषकको मेहनतलाई सम्मान गर्दै कृषिलाई नै समृद्धिको मुख्य आधार बनाइएको बताउनुभयो। उहाँले आलु पकेट कार्यक्रमले उत्पादन लागत घटाउनुका साथै उत्पादन बढाएर कृषकलाई बजारसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि कृषिमैत्री नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमबाट लाभान्वित कृषकहरूले अनुदानमा प्राप्त बीउ र कृषि सामग्रीले खेती गर्न सहज भएको र आत्मनिर्भर बन्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्। कृषिलाई विकासको मुख्य आधार मानेर सोताङ गाउँपालिका समृद्ध गाउँपालिका निर्माणतर्फ दृढ कदम चालिरहेको स्पष्ट देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *