सार ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुमा सञ्चालित वारिष्ता कफी सीप विकास तालिम शुक्रबार सम्पन्न भएको छ । जेठ २३ गतेदेखि सुरु गरिएको तालिम १५ दिनसम्म सञ्चालन भएको थियो । नगरपालिकाको गरिब निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालित यस तालिमले स्थानीय युवाहरुलाई स्वरोजगारमुखी सीप सिकाउने उद्देश्य लिएको थियो ।
तालिमबाट सहभागीहरुले आधुनिक कफी बनाउने सीप, कफी मेसिनको प्रयोग, सेवा शैली, ग्राहकसँगको व्यवहार, तथा साना उद्यम सञ्चालन सम्बन्धी ज्ञान प्राप्त गरेका छन् । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङले युवाहरुलाई देशमै बस्न र सिर्जनशील सीपमार्फत आय आर्जन गर्न प्रेरित गर्दै भन्नुभयो, “सीप विकास भनेको गरिबी निवारणको मूल आधार हो । यस्तो तालिमले युवाहरुलाई विदेश जानु पर्ने बाध्यता घटाउँछ र यहीँ उद्यमशील बन्ने अवसर दिन्छ।”
यस्तै वडा अध्यक्ष युवास तामाङले तालिममा सहभागी युवा तथा महिलाहरुले आर्जन गरेको सीपलाई व्यवहारमा उतार्न र आफू बसोबास गर्ने समुदायमै कफी व्यवसाय सुरु गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ, ताकि स्थानीय तहमै उद्यमको विकास होस् ।” नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाका अनुसार तालिम प्रशिक्षकको रूपमा अनुभवी वारिष्ता तथा कफी व्यवसायीले सहजीकरण गरेका थिए । स्थानिय युवाहरूले तालिमपछि स्वरोजगारको सम्भावनामा उत्साह व्यक्त गरेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्