सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक गरिएको शल्यक्रियाबाट २६ वर्षीया सर्मिला कुलुङले स्वास्थ्य अवस्थामा सुधारसँगै छोरालाई जन्म दिएकी छन्। महाकुलुङ–१ बुङ निवासी कुलुङले शल्यक्रिया मार्फत पहिलो सन्तान प्राप्त गरेकी हुन्। स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्यका अनुसार नवजात शिशुको तौल ४.८ किलो रहेको छ र आमा तथा शिशु दुबैको अवस्था स्थिर छ।
शल्यक्रिया एमडिजिपी डा. सागर खड्का नेतृत्वको चिकित्सक टोलीले सम्पन्न गरेको हो। सो टोलीमा डा. कविन्द्र राई, डा. रोशन कुलुङ, एनेस्थेसिया विशेषज्ञ पुनम कुमारी शाह, नर्स सोनी राई र अर्पणा कुलुङ, तथा अहेव ओसन खालिङ सहभागी थिए। निर्धारित समयभन्दा ढिलो प्रसव हुनुका साथै शिशुले पेटमै मल त्याग गरिसकेकाले तत्काल शल्यक्रिया आवश्यक परेको चिकित्सकहरूले बताए।
सफल शल्यक्रियापछि गाउँपालिका अध्यक्ष सूर्य कुलुङले स्वास्थ्य सेवा क्षेत्रमा लामो समयको प्रयासले प्रत्यक्ष उपलब्धि हात परेको टिप्पणी गरे। उनले समयमै उपचार सम्भव भएकाले आमा–शिशुको ज्यान जोगिन सफल भएको भन्दै चिकित्सक टोलीप्रति कृतज्ञता व्यक्त गरे।
स्वास्थ्य शाखा प्रमुख आचार्यले पनि स्थानीय स्तरमै शल्यक्रिया सेवा सुरु हुनु गाउँबासीको वर्षौंको चाहना पूरा भएको दिन भएको बताए। उनका अनुसार जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको निरन्तर सहयोगका कारण महाकुलुङमै यस्तो सेवा सम्भव बनेको हो।
प्रमुख प्रशासकीय अधिकृत छोइसाङ तामाङले यस उपलब्धिले स्थानीयवासीलाई अत्यावश्यक शल्यक्रियाका लागि सोताङ, सल्लेरी, ओखलढुंगा वा अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए।
गाउँपालिकाले १५ शैयाको स्तरोन्नत अस्पतालको औपचारिक उद्घाटन मंसिर २६ गते गर्ने तयारीसमेत गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्