लुक्लामा कोशी प्रदेशकै अग्लो स्थानमा पहिलो ब्याडमिन्टन कभर्ड हल उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार ७

खुम्बु (लुक्ला), असार ७ – खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा प्रदेशकै उच्च स्थानमा निर्मित पहिलो सुविधा सम्पन्न ब्याडमिन्टन कभर्ड हलको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। कोशी प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सगरमाथाको प्रवेशद्वार लुक्लामा नव निर्मित उक्त कभर्ड हलको उद्घाटन गर्नुभएको हो।

दुई कोर्ट रहेको उक्त आधुनिक कभर्ड हल तेन्जिङ हिलारी विमानस्थल नजिकै निर्माण गरिएको छ, जुन खेलकुद पूर्वाधारको क्षेत्रमा खुम्बुका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै सांसद राजभण्डारीले स्वर्गीय गाउँपालिका अध्यक्ष ङिम दोर्जि शेर्पाले देख्नुभएको सपना अहिलेको नेतृत्वले पूरा गरेकोमा प्रसंसा गर्दै खुम्बुमा खेलकुदको माध्यमबाट विकासको नयाँ ढोका खुलेको धारणा व्यक्त गर्नुभयो। “ब्याडमिन्टन प्रतियोगिताले खुम्बुको पहिचान अझ उजागर गर्नुका साथै यहाँको समग्र विकासमा सहयोग पुर्‍याउनेछ,” उहाँले भन्नुभयो।

गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा कभर्ड हल निर्माण भएको जानकारी दिनुभयो। “यो कभर्ड हललाई आगामी दिनमा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर को रूपमा विकास गर्ने योजना छ,” अध्यक्ष शेर्पाले बताउनुभयो।

उपाध्यक्ष टासी ल्हामु शेर्पाले प्रतिकूल मौसममा समेत खेलाडीहरूले अभ्यास गर्न सक्ने सुविधा उपलब्ध गराउने कभर्ड हलबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा तीन आर्थिक वर्षमा बजेट विनियोजन गरिएको हो। कुल लागत १ करोड ७८ लाख ४५ हजार रुपैयाँ रहेको यस परियोजनामा कोशी प्रदेशबाट ८० लाख र गाउँपालिकाबाट ९८ लाख ४५ हजार रुपैयाँ लगानी भएको छ।

निर्माणको क्रममा भौगोलिक कठिनाइ र ढुवानीका समस्या चुनौती बने पनि स्थानीय सहभागिता र हेलिकप्टरमार्फत सामग्री ढुवानी गरी निर्माण सफल भएको लुक्ला टोल विकास संस्थाका अध्यक्ष सोनाम दोर्जि शेर्पाले जानकारी दिनुभयो।

हिमालयन क्लबको स्वामित्वमा रहेको जग्गामा निर्मित उक्त कभर्ड हल अब सोही क्लबमार्फत सञ्चालनमा ल्याइनेछ। क्लबले यसको दिगो व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।

वडा नम्बर २ का अध्यक्ष आङ फूर्वा शेर्पाले ब्याडमिन्टन खेलप्रति युवापुस्ताको चासो बढ्दै गएको बताउँदै, “यो हलले खेलाडीलाई राति–दिन, जुनसुकै मौसममा अभ्यास गर्न सहज बनाउनेछ,” भन्नुभयो।

यस परियोजनाले न केवल खुम्बुको खेलकुद विकासमा योगदान पुर्‍याउनेछ, तर उच्च हिमाली क्षेत्रको सम्भावनालाई उजागर गर्दै पर्यटन र युवापुस्ताको सशक्तिकरणमा पनि योगदान दिने अपेक्षा गरिएको छ। प्रदेश र गाउँस्तरको सहकार्यमार्फत सम्पन्न भएको यो परियोजना भविष्यका लागि प्रेरणाको स्रोत बन्न सक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *