काठमाडौँ । सरकारले पुँजीबजार सुधारका लागि सार्वजनिक गरेको २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनालाई लगानीकर्ताले स्वागत गरेका छन्। उनीहरूले कार्ययोजनाले बजारको संरचनात्मक सुधारसँगै लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासमा सहयोग पुग्ने बताएका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले कार्ययोजना सकारात्मक रहेको बताउँदै प्राथमिक सेयरमा प्राइस डिस्कभरी, मार्जिन लेन्डिङ, सर्ट सेलिङ, कर्पोरेट बोन्ड बजारको विकास तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको अवसर दिने व्यवस्था महत्वपूर्ण भएको बताए।
उनका अनुसार नेप्से, सीडीएस एन्ड क्लियरिङ तथा धितोपत्र दलाल व्यवसायको आधुनिकीकरणले बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग गर्नेछ।
ढकालले ३६५ दिनभन्दा बढी होल्ड गरिएको सेयरमा ३.७५ प्रतिशत र सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्थाले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने बताए। कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन भए लगानीकर्ताको विश्वास बढ्नुका साथै बजारमा तरलता वृद्धि हुने उनको भनाइ छ।
त्यस्तै, पुँजीबजार लगानीकर्ता अम्बिका प्रसाद पौडेलले कार्ययोजना दीर्घकालीन विकास र विस्तारका लागि महत्वपूर्ण कदम भएको बताए। उनले सरकारले पुँजीबजार सुधारप्रति देखाएको प्रतिबद्धता सकारात्मक रहेको प्रतिक्रिया दिए।
लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुलेलले पनि २१ बुँदे कार्ययोजनाले नेपाली सेयर बजारमा दीर्घकालीन प्रभाव पार्ने बताए। उनका अनुसार पूँजीगत लाभकरमा गरिएको व्यवस्था, नाफा–घाटाको वास्तविक हिसाब गरी खुद नाफामा मात्रै कर लगाउने, संस्थागत लगानीकर्तालाई बजारमा प्रवेश गराउने तथा बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी व्यवस्थाले बजारमा ठूलो पुँजी भित्र्याउन सक्नेछ।
उनले इन्ट्रा–डे कारोबार, सर्ट सेलिङ, धितोपत्र सापटी र मार्जिन लेन्डिङ कार्यान्वयनमा आए कारोबार तथा तरलता बढ्ने दाबी गरे। सेयर स्प्लिट र कम्पनीले आफ्नै सेयर खरिद गर्न पाउने व्यवस्थाले पनि कम्पनी तथा लगानीकर्तालाई सहज हुने उनको भनाइ छ।
अर्थ मन्त्रालयले अर्थतन्त्रमा आएको शिथिलता, बाढीपहिरोलगायतका विपद्बाट परेको असर र पुँजीबजारमाथिको दबाबलाई सम्बोधन गर्ने उद्देश्यले सोमबार २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो।
कार्ययोजनामा पूँजीगत लाभकर कटौती, नोक्सानी समायोजन, इन्ट्रा–डे तथा सर्ट सेलिङ, एनआरएनको प्रवेश, सेयर स्प्लिट र बाइब्याकलगायतका विषय समेटिएका छन्।
कार्ययोजना सार्वजनिक भएपछि सेयर बजारमा समेत सकारात्मक प्रभाव देखिएको छ। सोमबार २५.५५ अंक बढेर २ हजार ५८५.०४ विन्दुमा बन्द भएको नेप्से मंगलबार प्रि–ओपन सेसनमा ८६.०५ अंकले बढेर २ हजार ८७१.०९ विन्दुमा पुगेको थियो।
यो समाचार तयार पार्दासम्म भने नेप्से परिसूचक ४६.१३ अंकले बढेर २ हजार ६३१.१८ विन्दुमा पुगेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्