काठमाडौँ । ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले नेपाल पठाएको ६ हजार वटा मेडिकल बडी ब्यागसहितको पहिलो खेप राहत सामग्री बिहीबार काठमाडौँ आइपुगेको छ। चाइना साउदर्न एयरलाइन्सको पूर्ण सहयोगमा उक्त राहत सामग्री नेपाल ल्याइएको हो।
चिनियाँ व्यवसायी तथा सर्वसाधारणले दान गरेका सामग्रीमा १७५ वटा टेन्ट, १ हजार वटा सिरक, १ हजार वटा ज्याकेट, १ हजार वटा आपत्कालीन मानवीय राहत बाकस र ६ हजार वटा मेडिकल बडी ब्याग रहेका छन्। करिब २७ टन तौल रहेको उक्त राहत सामग्रीको मूल्य १० लाख युआनभन्दा बढी रहेको फाउन्डेसनले जनाएको छ।
सामग्री नेपाल आइपुगेपछि फाउन्डेसनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनअनुसार रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाउने जनाएको छ।
राहत सामग्रीले बाढी प्रभावित नागरिकका लागि खाना, आवास र कपडालगायतका आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै स्थानीय उद्धार तथा आपत्कालीन टोलीलाई बाढीमा मृत्यु भएकाहरूको शव सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले व्यवस्थापन गर्न आवश्यक सामग्री उपलब्ध गराउनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्