विपद्को तस्बिर पोस्ट गर्दा संवेदनशीलता अपनाउन प्रहरीको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

काठमाडौं — विपद्का घटनासँग सम्बन्धित संवेदनशील तथा बीभत्स तस्बिर सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक नगर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको र प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान चलिरहेका बेला प्रहरीले यस्तो आग्रह गरेको हो। प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार सार्वजनिक गरेको सूचनामार्फत विपद्को संवेदनशीलतालाई ख्याल गर्दै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न अनुरोध गरेको छ।

प्रहरीका अनुसार क्षतिग्रस्त शव तथा अत्यन्त संवेदनशील दृश्यहरू सामाजिक सञ्जालमा फैलाउँदा पीडित परिवारमा थप पीडा पर्नुका साथै अन्य व्यक्तिमा त्रास, मानसिक तनाव र अनावश्यक भय सिर्जना हुन सक्छ। त्यसैले यस्ता सामग्रीको प्रचार–प्रसारबाट जोगिन प्रहरीले आग्रह गरेको हो।

भोटेकोशी बाढीपछि केही व्यक्ति अझै सम्पर्कविहीन रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा फसेका तथा जोखिममा परेका नागरिकको खोजी र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसमेत परिचालन भएका छन्।

प्रहरीले विपद्को समयमा सामाजिक सञ्जालमार्फत अपुष्ट विवरण फैलाउने काम नगर्न पनि सचेत गराएको छ। उद्धार तथा राहत अभियानमा सहयोग गर्न, घटनाबाट प्रभावित व्यक्ति र उनीहरूका परिवारको संवेदनशीलतालाई सम्मान गर्न तथा आवश्यक सूचना आधिकारिक स्रोतबाट मात्र लिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *