गरिमा विकास बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा स्थानान्तरण गरेको छ। बैंकको आफ्नै स्वामित्वमा निर्मित नयाँ भवनको बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गरेसँगै केन्द्रीय कार्यालय औपचारिक रूपमा बालुवाटारमा सरेको हो।

यसअघि लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय अब काठमाडौं महानगरपालिका–३, बालुवाटारबाट सञ्चालन हुनेछ। नयाँ कार्यालय भवन उद्घाटनका अवसरमा परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको बैंकले जनाएको छ।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, विभिन्न नियमनकारी निकायका प्रतिनिधि, बैंकका सञ्चालक तथा पूर्वपदाधिकारी, उच्च व्यवस्थापन, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी र ग्राहकको उपस्थिति रहेको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गर्दै आफ्नै भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आउनु संस्थाको यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताए। उनले बैंकको प्रगतिमा ग्राहक, शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार र कर्मचारीको योगदान महत्वपूर्ण रहेको बताए।

त्यस्तै, बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले आगामी दिनमा ग्राहकलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासनसँगै प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकलाई थप सबल बनाउँदै लैजाने बताए।

गरिमा विकास बैंकले २०६४ कात्तिक १८ गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको थियो। त्यसपछि २०६७ वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा सारेको बैंक राष्ट्रियस्तरको विकास बैंक बनेपछि २०७३ चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण भएको थियो।

हाल बैंकले देशभर १२६ शाखा र ५१ एटीएममार्फत करिब १० लाख ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *