काठमाडौं — नेपालको प्रमुख तथा बहुचर्चित अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोको १८औँ संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्य रूपमा आयोजना गरिने आयोजकले जनाएको छ। छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीले नेपालको तीव्र रूपमा विकास भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक र व्यावसायिक अवस्थालाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ।
प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूले आफ्ना नवीनतम सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवा सार्वजनिक गर्नेछन्। यससँगै ग्राहक, व्यवसायी तथा अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक सञ्जाल विस्तारको अवसरसमेत प्राप्त हुने नाडाले जनाएको छ।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने अटो शोमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन्।
यस वर्षको प्रदर्शनीमा नेपालमै एसेम्बल तथा उत्पादन हुने सवारीसाधन, ल्युब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
नयाँ प्रविधि र उत्पादन मुख्य आकर्षण
नाडा अटो शो २०२६ का प्रमुख आकर्षणमा स्वर्ण उत्सव संस्करणसँगै भविष्यमा यातायात क्षेत्रमा प्रयोग हुने प्रविधि र नवप्रवर्तनको अनुभव गराउने विशेष प्रदर्शनी रहनेछ। स्वदेशमै उत्पादित सवारीसाधन तथा अटोमोबाइल सामग्रीको प्रवर्द्धन, विभिन्न ब्रान्डका नयाँ मोडलको उत्पादन सार्वजनिक (प्रोडक्ट लन्च) तथा स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीसम्बन्धी सिम्पोसियम पनि आयोजना गरिनेछ।
आगन्तुकको सहजताका लागि प्रदर्शनीस्थलमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोनको व्यवस्था गरिएको छ।
टिकटदेखि पार्किङसम्म विशेष व्यवस्था
प्रदर्शनीको टिकट खल्ती एप मार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिएको छ। निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सञ्चारकर्मीका लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेस्क, क्याफेटेरिया, आपतकालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी तथा आगलागी नियन्त्रणको व्यवस्था पनि गरिनेछ। प्रदर्शनीस्थलमा व्हीलचेयरमैत्री सुविधा उपलब्ध गराइने नाडाले जनाएको छ।
पार्किङ व्यवस्थापनका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था मिलाउने पहल गरिएको छ।
नाडाले अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई नाडा अटो शो २०२६ मा सहभागी भई नेपालको मोबिलिटी क्षेत्रमा भइरहेको नवीनतम विकास र प्रविधिको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ।
आयोजकका अनुसार छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब दुई लाख आगन्तुक ले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्