काठमाडौंमा महाकुलुङ गाउँपालिकाको तीनदिने घुम्ती शिविर, ८३९ सेवाग्राहीले लिए सेवा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सञ्चालन गरेको तीनदिने प्रशासनिक घुम्ती शिविर सम्पन्न भएको छ। गाउँपालिकाले श्रावण २९ गतेदेखि ३१ गतेसम्म काठमाडौंको गोकर्णेश्वरस्थित शेर्पा पार्टी प्यालेसमा शिविर सञ्चालन गरेको हो।

गाउँपालिकाको कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने काठमाडौंमा बसोबास गर्ने महाकुलुङवासीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा विभिन्न प्रशासनिक तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिएको थियो। गाउँपालिकाले आफ्नो सेवा नागरिकको बसोबास रहेको स्थानमै पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरेको जनाएको छ।

घुम्ती शिविरका क्रममा विभिन्न सेवामार्फत ८३९ जनाले सेवा लिएका छन्। शिविरमा सबैभन्दा बढी मालपोत तिरोसम्बन्धी २३३ वटा सेवा प्रवाह भएको छ। त्यसैगरी सामाजिक सुरक्षा दर्ता तथा नवीकरण १२६, पञ्जीकरण १२२, राष्ट्रिय परिचयपत्र वितरण १११, रगत समूह परीक्षण ८६, अन्य सिफारिस ६० र सुगर परीक्षण ३३ वटा सेवा प्रदान गरिएको छ।

यसैगरी नागरिकता प्रमाणपत्रको सिफारिस तथा प्रतिलिपिसम्बन्धी २०, नाता प्रमाणित ३६, अविवाहित प्रमाणित २, स्वास्थ्य बीमा दर्ता तथा नवीकरण ५ र औषधि उपचार निवेदनसम्बन्धी ५ सेवा प्रदान गरिएको छ। वडा नं. १ बाट १२४, वडा नं. २ बाट १४७, वडा नं. ३ बाट १५१, वडा नं. ४ बाट ८४ र वडा नं. ५ बाट ९३ वटा सेवा प्रवाह भएको छ। गाउँपालिकातर्फबाट थप २४० सेवा प्रदान गरिएको छ।

महाकुलुङ गाउँपालिकाले यसअघि पनि काठमाडौंमा बसोबास गर्ने आफ्ना नागरिकलाई लक्षित गर्दै विभिन्न घुम्ती तथा एकीकृत सेवा शिविर सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले नागरिकको सहजताका लागि सेवा प्रवाहलाई उनीहरूकै पहुँचमा पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको यस शिविरले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउन सहयोग पुगेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *