नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ११

काठमाडौं । ग्लोबल आइएमई बैंकले नागरिक एपसँग सहकार्य गर्दै अनलाइनमार्फत बैंक खाता खोल्ने नयाँ डिजिटल सेवा सुरु गरेको छ। यससँगै राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एप प्रयोग गर्ने नेपाली नागरिकले घरमै बसेर बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।

बैंकका अनुसार नागरिक एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी वा https://nagarik.gibl.com.np मार्फत आवश्यक प्रक्रिया पूरा गरेर खाता खोल्न सकिनेछ। यो सुविधा नेपालमै पहिलो पटक नागरिक एपसँग एकीकृत रूपमा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध भएका व्यक्तिले अनलाइनबाटै खाता खोल्न सक्नेछन्। खाता खोल्ने क्रममा ग्राहकको पूर्वस्वीकृतिपछि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने भएकाले पुनः विवरण भर्नुपर्ने झन्झट हट्ने र सूचनाको गोपनीयता पनि सुनिश्चित हुने बैंकको भनाइ छ।

अनलाइनमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालनमा ल्याउन भने ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भएर वा भिडियो केवाईसी (KYC) प्रक्रिया पूरा गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकले यस सेवामार्फत सरकारी डिजिटल पूर्वाधारको प्रभावकारी उपयोग गर्दै सुरक्षित, सरल र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। नागरिक एपसँगको सहकार्यले ग्राहकलाई अझ सहज, छिटो र पारदर्शी बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंक आधुनिक प्रविधि तथा उत्कृष्ट ग्राहक सेवाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गर्दै आएको बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि हासिल गरिसकेको छ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ। साथै विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *