काठमाण्डौँ । माघ महिनामा घरजग्गा कारोबार तुलनात्मक रूपमा स्थिर देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा देशभर ५० हजार ८ सय ३७ वटा घरजग्गा कारोबार भएका छन् । यो संख्या पुस महिनाको तुलनामा करिब एक हजारले कम हो ।
पुसमा ५१ हजार ८ सय र मंसिरमा ५१ हजार ६ सय कारोबार भएका थिए, जसलाई चालु आर्थिक वर्षकै उच्च कारोबारमध्ये एक मानिएको छ ।
कारोबारमा सामान्य गिरावटसँगै माघमा राजस्व संकलन पनि केही घटेको छ। पुसमा ५ अर्ब १७ करोड राजस्व उठेकामा माघमा करिब ५ अर्बमा सीमित भएको विभागको तथ्यांक छ । घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, डोर सुविधा शुल्क र पुँजीगत लाभकरलगायत शीर्षकमा राजस्व संकलन हुँदै आएको छ । यसमध्ये पुँजीगत लाभकर संघ सरकारले पाउने गर्छ भने बाँकी रकम प्रदेश र स्थानीय तहमा बाँडफाँट हुन्छ।
साउनदेखि माघसम्मको सात महिनामा भने घरजग्गा कारोबारबाट सरकारले कुल २६ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ । यो पछिल्ला तीन आर्थिक वर्षको सोही अवधिको तुलनामा सबैभन्दा बढी हो । अघिल्ला वर्षहरूमा सात महिनामा २०७९/८० मा २१ अर्ब ९४ करोड, २०८०/८१ मा २१ अर्ब ६५ करोड र २०८१/८२ मा २४ अर्ब ७१ करोड राजस्व संकलन भएको थियो ।
चालु वर्षमा सबैभन्दा बढी राजस्व पुसमा संकलन भएको छ भने सबैभन्दा कम कात्तिकमा २ अर्ब ७५ करोड ५१ लाख उठेको थियो । असोजमा २ अर्ब ७५ करोड ८५ लाख, भदौमा ३ अर्ब १४ करोड ७ लाख, साउनमा ३ अर्ब २८ करोड, मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख र माघमा ५ अर्ब ९९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
कारोबार संख्यामा भने साउन र भदौमा उच्च देखिएको थियो । साउनमा १ लाख ४ हजार २ सय १८ र भदौमा १ लाख २ हजार ९ सय ७१ पटक घरजग्गा किनबेच भएको थियो । तर भदौ २३ को जेन–जी आन्दोलनपछिको अस्थिरताले कारोबार प्रभावित भएको थियो । त्यसक्रममा भूमिसुधार तथा मालपोत कार्यालयहरूमा क्षति पुगेपछि असोज र कात्तिकमा कारोबार घटेको देखिन्छ । असोजमा ७९ हजार ७ सय ३६ र कात्तिकमा ९३ हजार ६ सय ६९ कारोबार भएका थिए । यद्यपि, मंसिरदेखि बजारमा सुधार देखिएको छ। मंसिरमा १ लाख ५८ हजार ८ सय ९९, पुसमा १ लाख ६२ हजार ८ सय ७७ र माघमा १ लाख ५३ हजार ९ सय २० पटक घरजग्गा कारोबार भएको तथ्यांक छ।
कित्ताकाट खुल्नु बजार चलायमान हुनुको मुख्य कारण मानिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्