रवि र कुलमानबिच संघीयता, धर्मनिरपेक्षता र समावेशितामा अझै सहमति जुटेन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बिच पुस १४ गते एकता गर्ने सहमति भयो । तर, सहमति अनुसार रास्वपा कार्यान्वयनको पक्षमा नउभिँदा दुई पार्टीबिचको एकताले पूर्णता पाउन ढिलाइ भएको छ ।

मन्त्री पदबाट राजीनामा दिएसँगै कुलमानले यसबारेमा रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । घिसिङले शुक्रबार बिहान सभापति रवि लामिछानेलाई भेटेर पूर्व प्रतिबद्धताका बारेमा चासो राखेको बुझिएको छ ।

स्रोतका अनुसार दुई नेताबिच सभापति रवि लामिछानेको निवास बुढानीलकण्ठमा ‘वान टु वान’ कुराकानी भएको हो । भेटवार्तामा रास्वपामा उज्यालो नेपाल पार्टीको समायोजनका साथै समग्र विषयमा छलफल भएपनि सहमति जुट्न नसकेको कुलमानका सहोदर दाइ समेत रहेका साबिकको उज्यालो पार्टीको नेता गणेश घिसिङले बताएका छन् ।

नमिलेको विषय भनेको संघीयता, धर्मनिरपेक्षता र समावेशिताको सैद्धान्तिक मुद्दा हो ।

कुलमान पक्षले उठाएका ती मुद्दामा रवि लामिछानेले मौखिक सहमति जनाएपनि लिखित सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गरिरहेका छन् ।

शुक्रबारको भेटमा पनि लामिछाने र घिसिङबिच यही विषयमा कुराकानी भएको थियो । कुलमान उज्यालो नेपाल पार्टीका संरक्षक हुन् भने अध्यक्ष अनुप उपाध्याय हुन् ।

एकतापछि उज्यालो नेपाल पक्षधरले रास्वपा केन्द्रीय समितिमा सम्मानजनक हिस्सेदारी, समानुपातिक सूची संशोधन तथा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारीका विषयमा प्याकेजमा सहमति हुनुपर्ने अडान राख्दै आएको छ ।

यसअघि दुई पार्टीबिच भएको सहमतिमा उज्यालो पार्टीले रास्वपामा कुलमानलाई दोस्रो वरियताको उपसभापति सहित सहमहामन्त्री र सहप्रवक्ता दिने सहमति भएपनि केन्द्रीय सदस्यमा उज्यालो पार्टीबाट कति जना पाउने भन्ने विषयमा सहमति हुन बाँकी नै छ ।

पुस १४ गते उनेपासँग एकताको सहमति गर्नुअघि रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग सहमति गरेको थियो । सहमति अनुसार रास्वपाको केन्द्रीय समितिमा बालेनको तर्फबाट २६ सदस्य थपिएका छन् । तर उज्यालोको तर्फबाट अहिलेसम्म कमिटीमा कुनै नेता समेटिएका छैनन् । कति केन्द्रीय सदस्य उज्यालोलाई दिने भन्नेमै कुरा अहिलेसम्म नमिलिरहेको स्रोतको दाबी छ ।

उज्यालोले समानुपातिकको बन्द सूचीमा पठाएका १८ जनाकै नाम राख्नु पर्ने र उज्यालाका केही नामलाई प्राथमिकता क्रममा माथि तान्नुपर्ने माग पनि राख्दै आएको छ तर यो विषयमा रास्वपा पक्षले अस्वीकार गर्दै आएको कुलमान पक्षको रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *