काठमाण्डौँ । धनगढी उपमहानगरपालिका–८ स्थित भद्रटोलमा खोला किनारको झाडीमा सालनालसहित एक नवजात शिसु फेला परेको छ । खोला किनारको झाडीमा सालनाल समेत नकाटेको अवस्थामा एक शिशु (छोरी) बेवारिसे फालिएको अबस्थामा फेला परेको हो।
उक्त घट्नाबारे स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरे । प्रहरीले शिशुको उद्धार गर्यो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार बिहान करिब सवा ८ बजेतिर प्रहरी कन्ट्रोलमा खबर आएको थियो । धनगढी–८ को भद्रटोलस्थित खोला किनारमा रहेको खेत र बाँसको झाङ भएको ठाउँ नजिकैबाट बच्चा रोएको आवाज आएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार शिशु सालनाल सहित र कपडाले बेरिएको अवस्थामा थिइन् । चिसो भुईँमा फालिएकी ती अबोध शिशुको अवस्था अहिले भने सकुशल रहेको र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शिशुको उद्धार लगत्तै प्रहरीले आमाको खोजी सुरु गरेको थियो । खोजी गर्दै जाँदा सोही वडाकी २९ वर्षीय राममति रानालाई प्रहरीले पक्राउ गरेको छ । उनी विवाहित रहेको र श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा रहेको बुझिएको छ । तर, उनले भर्खरै जन्मेको सन्तानलाई किन झाडीमा फालिन् भन्ने कारण भने खुल्न सकेको छैन ।
प्रहरी निरीक्षक विष्टका अनुसार सुत्केरी अवस्थाकी ती महिला शारीरिक र मानसिक रूपमा निकै कमजोर देखिएकी छिन् । प्रहरीका अनुसार ती महिलाको घर परिवारका अन्य सदस्यहरू कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । श्रीमान् विदेशमा रहेको बताइए पनि घटनापछि उनको हेरचाह वा सोधपुछका लागि आफन्तहरू प्रहरी कार्यालयमा उपस्थित नभएको बुझिएको छ ।
अहिले शिशु र आमा दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र आमाको स्वास्थ्यमा सुधार आएपछि मात्र शिशु फाल्नुको वास्तविक कारण बाहिर आउने जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्