काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफासहितबाट सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण पारित गर्दै सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो।
अध्यक्ष ढकालले कार्यक्रममा बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति–नियमहरूको पूर्ण पालना गर्दै सेयरधनीहरूलाई निरन्तर उचित प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बैंकको आगामी रणनीति अन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार र डिजिटल सेवामा अझ सशक्तता ल्याउने योजना रहेको जानकारी दिनुभयो।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।
साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधि, संस्थागत तथा व्यक्तिगत सेयरधनीहरू, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि र बैंकका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंकले विगतका वर्षहरूमा उत्कृष्ट वित्तीय प्रदर्शनका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गर्दै आएको छ। तीमध्ये ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर अवार्ड’ उल्लेखनीय छन्।
नेपालका ७७ वटै जिल्लामा सेवा विस्तार गर्न सफल ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो निजी क्षेत्रको वाणिज्य बैंक हो। हाल बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्। बैंकले १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई आधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।
साथै, बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका मुलुकहरूबाट नेपाली कामदार र परिवारबीच आर्थिक आवागमनलाई सहज बनाउँदै देशको आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्