काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन्।३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटि पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको उनको भनाइ छ।
‘सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौँ, पुराना पुराना फिल्महरू हेर्दाखेरी त्यसमा न्युवर्कसिटि पुलिसको काम कारबाही हेर्दाखेरी लाग्थ्यो काठमाडौँलगायत देशका विभिन्न पालिकाहरूमा सिटि पुलिस यस्तो हुनुपर्छ,’ उनले भने, ‘अचेल तपाइँहरूको काम हेर्दाखेरी कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ। त्यो चाहीँ खुसीको कुरा हो।’
फिल्ममा देखाइएको काम सत्यतामा हुनु खुसीको कुरा भएको उनको भनाइ छ। उनले काठमाडौं महानगरबाट धेरै पालिकाहरूले काम गर्ने शैली सिक्न खोजेको पनि बताए। त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उनको भनाइ छ।
‘धेरै पालिकाहरू छन्, धेरै ठाउँहरू छन्। काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहन्छन्। जुन ठाउँहरूले काठमाडौँ महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाईमा तपाइँहरूको ठूलो योगदान छ,’ उनले भने, ‘सार्वजानिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा तपाइँहरूको उल्लेखनीय योगदान रहेको छ।’
उनले महानगर प्रहरी आगामी दिनमा पनि अन्य सिटि प्रहरी र स्थानीय तहका सरकारहरूको लागि सिकाइको रुपमा रहने विश्वास व्यक्त गरे।
‘काठमाडौँ महानगरपालिकालाई जसरी एउटा राजधानीको रुपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौको एउटा पर्यायबाची पहिचानको रुपमा स्थापित भएको छ,’ उनले भने, ‘तपाइँहरूले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरू अहिलेको बितेको ३ वर्षमा मात्रै नभएर आगामी दिनमा पनि विभिन्न सिटि पुलिस तथा स्थानिय सरकारहरूलाई एउटा सिकाइको रुपमा रहनेछ।’


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्