पहिलो पटक डडेल्धुरा टेकेको केटाले प्रधानमन्त्रीलाई चुनौती देला भन्ने धेरैलाई लागेको थिएन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ७

डडेल्धुरामा प्रतिनिधि सभातर्फको मतगणना सकिएको छ। यहाँबाट प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ। म दोस्रो भएको छु।

दोस्रो हुँदा पनि म डडेल्धुराका मतदाताप्रति आभारी छु, धन्य छु! म डडेल्धुरा आएको चार महिना मात्रै भयो। केहीदिनअघि पहिलो पटक डडेल्धुरा टेकेको एउटा केटाले यही क्षेत्रबाट ६ पटक सांसद जितिसकेका र बहालवाला प्रधानमन्त्रीबीच चुनावी प्रतिस्पर्धा होला भन्ने धेरैलाई विश्वास लागेको थिएन। मलाई भने मैले देउवालाई हराउँछु भन्ने पूर्ण विश्वास थियो। मेरो त्यो विश्वासमा डडेल्धुराका १३ हजार ४२ जना मतदाताले साथ दिनुभयो। म उहाँहरू सबैप्रति आभारी छु।

चार महिनाअघि डडेल्धुरा पुग्दा मेरा लागि यहाँको भूगोल र स्थानीय भाषा दुबै नयाँ थिए। तर ती मेरा लागि ठूला चुनौती बनेनन्।

अमरगढी आएको केहीदिनमै म डडेल्धुराका गाउँ-गाउँमा पुग्न थालें। हामी ४ जना साथीहरू मोटरसाइकलमा कुद्थ्यौं। माइक बोक्थ्यौं। आफ्ना कुरा डाँडामा गएर माइकमा भन्थ्यौं। टोल-टोलमा पर्चा बाँड्थ्यौं। चुनावी अभियानका क्रममा गाउँ जाँदा म कहिल्यै होटलमा बसिनँ। मान्छेका घरमै बसें। मानिसहरूले हामीलाई आफ्नो घरमा बास दिन्थे। राती अबेर भइसक्दा खाना बनाउन नसक्ने परिस्थितिमा हामी चाउचाउ खाएर सुत्थ्यौं। यसरी घर-घरमा बस्दा म आफ्ना कुरा सुनाउँथें। डडेल्धुराका समस्या के हुन् र तिनको समाधान कसरी गर्न सकिन्छ भनेर बताउँथे।

मानिसहरू मेरा कुरा चाख दिएर सुन्थे। राम्रो लाग्यो भन्थे।

म डडेल्धुराका ५२ वटा वडामा दुई पटकसम्म पुगें। बजारका चोकमा केही मानिस भेला भएका ठाउँमा आफ्ना कुरा सुनाएँ।

मेरा प्रतिस्पर्धी प्रधानमन्त्री देउवा निकै आर्थिक र प्रशासनिक शक्तिका रूपमा निकै बलियो हुनुहुन्थ्यो। उहाँ हेलिकप्टर ल्याएर आउनुभयो। ठाउँ-ठाउँमा दर्जनौं गाडी रिजर्भ गरेर सभा गर्नुभयो। मैले एउटा पनि सभा गरिनँ। कसैलाई पैसा बाँडिनँ। तैपनि मैले उहाँले ल्याएकोभन्दा आधा बढी मत ल्याएँ। उहाँको त्यति धेरै आर्थिक र प्रशासनिक शक्ति नभएको भए चुनावको नतिजा अर्कै हुन्थ्यो होलाजस्तो लाग्छ।  

मैले पाएको मतले मलाई जिम्मेवारी थपेको छ। चार महिनामा डडेल्धुरासँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ। यहाँका मान्छेमा म अहिलेका दलप्रतिको आक्रोश र मप्रतिको आशा देखिरहेको छु।

साथीहरूले मलाई अहिले काठमाडौं आउनुपर्‍यो भनिरहेका छन्। तर म तत्काल काठमाडौं फर्किन्नँ। अमरगढीमा डेरा लिइसकेको छु। डेरामै बस्छु र डडेल्धुरा मात्र होइन, सुदूरपश्चिम र समग्र देशभरिका लागि काम गर्छु।

सबैभन्दा पहिलो काम म फेरि डडेल्धुराका सबै ५२ वडामा जान्छु। चुनावी प्रचारकै बेला बोकेको माइकबाट माइकिङ गर्दै मतदातालाई धन्यवाद दिन्छु।

आफूले पाएको मत बराबरको मिठाइ पनि बाँड्छु। मेरो चुनावी अभियानका क्रममा ठूलो सहयोग गर्ने प्रहरीलगायत कर्मचारीलाई आजै मिठाइ खुवाउँछु।

त्यसपछि म सुदूरपश्चिमका समस्या बुझ्नतिर लाग्छु। डडेल्धुरामा केही ठाउँमा पिउने पानी र बजारमा फोहोर व्यवस्थापनको समस्या छ। इन्जिनियर भएका कारण यहाँका ती समस्या समाधान गर्न के गर्न सकिन्छ म स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर काम गर्छु। अनि सुदूरपश्चिमका अरू जिल्ला घुम्छु र त्यहाँका मानिसहरूसँग कुरा गर्छु।

अब म सुदूरपश्चिमको नेता हुने हो। किनकी अब यहाँ कोही नेता नै छैन। अहिलेसम्म यहाँ भीम रावल र शेरबहादुर देउवा नेता हुनुहुन्थ्यो। अबको चुनावमा उहाँहरू नेता हुनुहुन्न। अन्य दलका नेताहरू पनि कोही हुनुहुन्न। त्यो भ्याकुम म पूरा गर्छु।

धेरै जनाले मलाई काठमाडौं वा आफ्नै गृहजिल्ला गुल्मीबाट चुनाव लडेको भए हुन्थ्यो कि भन्नुहुन्छ। मलाई मैले जे गरें एकदम सही गरें भन्ने लाग्छ।

मैले डडेल्धुरा आएर प्रधानमन्त्रीलाई चुनौती दिएर जुन तरंग ल्याएँ अहिले विभिन्न ठाउँमा नयाँ र युवा उम्मेदवारले जित्नुमा त्यसको पनि केही योगदान छ। अबको पाँच वर्षपछि यो तरंग बलियो र देशभरि व्याप्त पार्नुछ।

त्यसका लागि म डडेल्धुरालाई केन्द्र बनाएर लाग्नेछु। देश विकास हुन झापादेखि दार्चुलासम्म विकास हुनुपर्छ। त्यसका लागि म विदेशमा बस्ने नेपालीहरूलाई नेपाल फर्किएर चुनावमा सहभागी हुन आह्वान गर्नेछु।

मैले विदेशको राम्रो जागिर छोडेर चुनाव लडें। राजनीतिक हस्तक्षेप गरें। विदेशमा भएका नेपाली युवालाई नेपाल फर्केर राजनीतिमा हस्तक्षेप गर भन्ने नैतिक हैसियत राख्छुजस्तो लाग्छ।

अहिले मैले पाएको मत देउवाप्रतिको आक्रोश र मप्रतिको आशाको मिश्रण हो। अहिलेका दलहरू जागेनन् र आफूलाई सुधारेनन् भने उनीहरूप्रतिको आक्रोश पाँच वर्षमा अझ धेरै बढ्नेछ। यो पाँच वर्षमा हामीजस्ता युवाप्रति मतदाताको आशा बढाउने काम गर्नेछु। हारेर पनि काम गर्न सकिन्छ भन्ने देखाउनेछु।

मलाई लाग्छ- पाँच वर्षपछि अहिलेका दलहरू सुध्रिएनन् भने हामीले हस्तक्षेपकारी परिवर्तन गर्नेछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *