सोलुखुम्बुको महाकुलुङमा मिटरबक्स अभावले विद्युत् सेवा अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ४

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा मिटर बक्सको अभावले स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित भइरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरण र महाकुलुङ गाउँपालिकाको संयुक्त लगानीमा दुई वर्ष अगाडि नै राष्ट्रिय प्रसारण लाइन विस्तार भइसक्दा पनि मिटर बक्सको अभावले स्थानीयवासी बिजुलीको सुविधाबाट टाढा रहन बाध्य छन् ।

झन्डै तीन हजार घरधुरी उपभोक्ता रहेको पालिकामा कार्यपालिकाले सामुदायिक ग्रामीण विद्युतीकरण वितरक संस्था गठन गरी झन्डै एक हजार नौ सय वटा मिटर जडान गरेको छ । तर अझै पनि सबै उपभोक्तालाई मिटर बक्स उपलब्ध गराउन नसकेको वडा नम्बर १ का अध्यक्ष पर्खिधन राईले जानकारी दिए ।

प्राधिकरणको सब–स्टेशन रहेको सोलुखुम्बुको तिङ्लाबाट झन्डै ८३ किलोमिटर टाढा रहेको वितरण केन्द्रमा पालिकाले पाँच जना कर्मचारी राखेको छ ।

प्राधिकरणबाट साढे तीन लाख महसुल उठ्दा उपभोक्ताबाट एक लाख ७० हजार रुपैयाँमात्रै सङ्कलन भइरहेको छ । यसले गर्दा कर्मचारीहरूले चार महिनादेखि तलब पाएका छैनन् । सबै उपभोक्ताकोमा मिटर जडान नहुनु र कतिपय उपभोक्ताले लघुजलविद्युत् प्रयोग गरिरहेका कारण महसुल पूरा नउठेको हो ।

वडाअध्यक्ष पर्खिधन राईका अनुसार विद्युत् मिटरका लागि नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालय सल्लेरीलगायत प्रदेश कार्यालय विराटनगरमा लिखित माग गर्दासमेत उपलब्ध भएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *