महाकुलुङ गाउँसभाको १७ औँ हिउँदे अधिवेशन भोलि बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको १७औँ हिउँदे गाउँसभा आगामी पौष ३ गते अर्थात भोलि बस्ने भएको छ । गाउँपालिकाले अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष बहादुर कुलुङ राई तथा प्रमुख प्रशासकीय अधिकृत छोईसाङ तामाङका अनुसार गाउँसभा सञ्चालन कार्यविधि, २०७४ को परिच्छेद–२ को दफा ३ बमोजिम उक्त हिउँदे अधिवेशन आह्वान गरिएको हो । अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ मा महालेखा परीक्षकको कार्यालयबाट औंल्याइएका बेरुजुका विषयमा छलफल गरिनेछ भने आर्थिक वर्ष २०८१/८२ सम्बन्धी विविध विषयहरू पनि प्रस्तुत गरिनेछ।

गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङका अनुसार अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित योजना तथा कार्यक्रम कार्यान्वयनका लागि थप बजेट व्यवस्थापन गर्न, चालु प्रकृतिका खर्च कटौती गरी पूँजीगत तर्फ रकमान्तरण गर्न तथा वडास्तरमा कार्यान्वयन हुन बाँकी योजनाहरूको शीर्षक संशोधन गर्न पूरक तथा संशोधित बजेट पेश गरिनेछ।

उहाँका अनुसार आवश्यक ऐन, कानुन तथा कार्यविधिहरू यसअघि नै निर्माण भइसकेकाले यस पटक कुनै पनि प्रकारका विधेयक प्रस्तुत नहुने जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *