खोटाङको हलेसी तुवाचुङले थाल्यो मदिराको ब्राण्डिङ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ५

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित घरेलु मदिराको ब्राण्डिङ प्रक्रिया सुरु गरेको छ । घरेलु महिला उत्पादन तथा उपयोग कार्यक्रम अन्तर्गत ब्राण्डिङ सुरु गरिएको हो ।

स्थानीयस्तरमा उत्पादन हुने मदिरालाई व्यवस्थित गर्दै उत्पादन, प्याकेजिङ र बजार व्यवस्थापनसम्म पुर्‍याउने उद्देश्यले नगरपालिकाले आमा समूह, महिला समूह, होमस्टे तथा सहकारी संस्थालाई सूचीकृत गर्न उक्त कार्यक्रमको सुरुवात गरिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै इच्छुक समूह वा महिलाहरूलाई आवश्यक कागजातसहित नगर कार्यालयमा उपस्थित भई नाम दर्ता गराउनसमेत आग्रह गरेको छ ।

सूचीकृत हुन चाहने सहकारी संस्था, आमा समूह, महिला समूह तथा इच्छुक महिलाहरूलाई ब्राण्डिङ, प्याकेजिङ, व्यापारिकरण, उत्पादन विकास, तालिम तथा कच्चा पदार्थको व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिने नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ ।

स्थानीय स्रोत साधनको उपयोगमार्फत महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यविधि तयार गरी मदिरा ब्राण्डिङको योजना अघि सारिएको मेयर राईको भनाइ छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक नगरबासीहरूले यही २०७८ साल जेठ ११ गतेभित्र आवश्यक विवरण र कागजातसहित नगरपालिका कार्यालयमा आवेदन दिनुपर्नेछ ।

“घरेलु मदिरा उत्पादन तथा उपयोग कार्यविधि २०८१” निर्माण गरेर नगरपालिकाले उक्त कार्यलाई औपचारिक रूपमा अगाडि बढाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *