सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ स्थित गार्मा माध्यमिक विद्यालयका विद्यार्थीहरूले विज्ञान सामग्री प्रदर्शनी गरेका छन् । विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूले दुई हप्ताको अभ्यासको क्रममा निर्माण गरेका विज्ञान सामग्रीहरू आज प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूको १८ वटा समूह बनाएर सामग्रीहरूको निर्माण अभ्यास गरिएको विद्यालयले जनाएको छ। जसमा ३३ प्रकारका सामग्री तयार पारिएको विज्ञान शिक्षक पुष्कर शाहले जानकारी दिनुभयो । जसमा होम सेग्रेटी मोडल, रिमोट कन्ट्रोल कार, थ्रिडी होलो ग्राम, बज बयर गेम, वाटर लेबल एन्ड रेण्डीटेक्टर, एटीएम लगायत रहेका छन् ।
विज्ञान सामग्री प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङवु शेर्पाले गार्मा माध्यमिक विद्यालय नमुना विद्यालयको रूपमा चिनिएको भन्दै अन्य विद्यालयहरूले पनि यस विद्यालयबाट फरक ज्ञान सिक्न आवश्यक रहेको बताउनुभयो । प्रमुख शेर्पाले अन्य विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहँदा गार्मा माविमा विद्यार्थीको सङ्ख्या वृद्धि हुनुले पनि यस विद्यालयको शैक्षिक गुणस्तर उत्कृष्ट भएको सङ्केत गर्ने बताउनुभयो ।
विद्यालयलाई सोलुदुधकुण्ड नगरपालिकाले साथ र सहयोग गर्दै आएको स्मरण गर्दै शेर्पाले आगामी दिनमा समेत थप सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले विद्यार्थीहरूले गरेको कार्यहरूलाई हौसला प्रदान गर्दै आगामी दिनमा थप राम्रो गर्नका लागि आजको कार्यक्रमको आयोजना गरेको बताउँदै यस विद्यालयलाई नमुना विद्यालय बनाउनका लागि सहयोग गर्ने नगरपालिका सहित सहयोगी सङ्घसंस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङले व्यवहारिक शिक्षालाई पनि विद्यालयले जोड दिँदै आएको बताउनुभयो ।
विद्यार्थीको प्रदर्शन गरिएका विज्ञान सामग्रीहरू निर्माणका लागि विद्यार्थीहरूलाई विद्यालयका विज्ञान विषयका शिक्षक पुष्कर शाह र विशाल प्रधानले सहजिकरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नगर उपप्रमुख गान्धीमाया तामाङ, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्