एजेन्सी । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा पनि गरेको छ ।
अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो ।
तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’
उनले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।
तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् । उनी काजकिस्तानमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरे पनि अहिलेसम्म कहाँ छन् सार्वजनिक भएका छैनन् ।
यद्यपि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएको विवरणहरु आएका छन् ।
अमेरिकी दूतावास विमानस्थलमा
राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई अस्थायी रुपमा दूतवास बनाएको छ ।
हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो ।
विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरेको अमेरिकाले धमाधम आफ्ना नागरिकको उद्धार गरिरहेको छ । अब अफगानिस्तानमा कार्यरत १ हजार ४०० अमेरिकी कर्मचारी पनि स्वदेश फर्काउने तयारी अमेरिकाले गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया