एजेन्सी – ल्याटिन अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोगसम्बन्धी एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । हाउस अफ कंग्रेसले बुधबार पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन ।
उक्त विधेयकले मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई खुला गरेपछि मेक्सिको गाँजाको विश्वकै ठूलो बजार बन्ने भएको छ । राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओर्बाडोरको प्रशासनले ल्याएको उक्त विधेयकलाई तल्लो सदनका सांसदहरूले ३१६ मतसहित पारित गरेका हुन् । उक्त विधेयक पारित गर्न हुन्न भन्ने पक्षमा १२७ सांसद थिए ।
अब माथिल्लो सदन सिनेटले पनि विधेयक पारित गरे यसले कानुनको रूप लिनेछ र लागू हुने छ । सिनेटमा पनि सत्तारूढ पार्टीको बहुमत भएकाले विधेयक सहजै पारित हुने विश्वास गरिएको छ ।
उक्त विधेयकले गाँजाका पाँच प्रकारका लाइसेन्स दिने व्यवस्था गरेको छ । पहिलो गाँजाको खेती, दोस्रो त्यसबाट गाँजा बनाउने, बेच्ने, अनुसन्धान गर्ने र तेस्रो आयात–निर्यात गर्नेबारे व्यवस्था गरेको छ । १८ वर्ष माथिका मानिसरूले मात्र गाँजाको प्रयोगसम्बन्धी यस्तो लाइसेन्स पाउनेछन् ।
सन् २०१३ मा अर्को दक्षिण अमेरिकी मुलुक उरूग्वेले गाँजाको उत्पादन र वितरणलाई कानुनी हैसियत दिएको थियो । यो क्षेत्रका अन्य मुलुकहरू अर्जेन्टिना, चिली, कोलम्बिया र पेरूले गाँजाको मेडिकल प्रयोगका लागि अनुमति दिएका छन् । सन् २०१८मा क्यानडाले पनि गाँजाको प्रयोगलाई अनुमति दिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया