
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म ९४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । सोमबार सम्पन्न गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा हालसम्म निकासा भएको रकम मध्ये ९४ प्रतिशत वित्तीय प्रगति भएको जनकारी गराइएको हो ।
पालिका अध्यक्ष असीम राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रसन्न दीप राईले पालिकाको चालु आर्थिक वर्षका लागि रु. ६० करोड बजेट अनुमानित गरिएकोमा हालसम्म रु. ४२ करोड निकासा भएकोमा उक्त रकमको ९४ प्रतिशत काम सम्पन्न भई भुक्तानी भएको बताउनु भयो । साथै वहाँले हालसम्म १० वटा कार्यपालिका बैठक बसेको, एउटा गाउँ सभा, एउटा ऐन र ६ वटा कार्यविधि जारी गरेको विवरण सार्वजनिक गर्नु भयो ।
गाउँपालिका अध्यक्ष असीम राईले पालिकाको समग्र प्रगति विवरण सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, सडक र पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । यो वर्ष थुलुङ दुधकोशी अस्पताललाई सङ्घीय सरकारबाट डाक्टरको दरबन्दी ल्याउनुका साथै स्वास्थ्य बिमा कार्यक्रम लागु भएको, प्राविधिक शिक्षालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको, २ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएको र दुधकोशीको पुलको काम थालनी सङ्गै सामाजिक विकासलाई सङ सङ्गै अघि बढाइएको उहाँले बताउनुभयो ।
रेडियो एभरेस्टको सहजिकरणमा भएको कार्यक्रममा वहाँले प्रदेश स्तरीय खेल ग्राम ७० प्रतिशत निर्माण सम्पन्न भएको, नेले–चारघरे –मुक्लि सडक कालोपत्रे सुरु भएको, सुके पोखरी पर्यटन क्षेत्र निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । खानेपानी समस्या समाधान गर्न पंचन र जुबुमा वाटर लिफ्टिङ परियोजना अगाडी बढाइएको, कृषिको बजारीकरणमा कृषि एम्बुलेन्सलाई चालु अवस्थामा राखिएको, कफि प्रशोधन केन्द्र बनाइएको र खाने तेलमा धेरै हदसम्म आत्मनिर्भर हुने गरी भइरहेको कामको प्रगति विवरण अध्यक्ष राईले सुनाउनु भयो ।
सार्वजनिक सुनुवाइमा पालिका उपाध्यक्ष सविता राईले थुलुङ दुधकोशीमा योजना अनुगमन र न्याय सम्पादनको काम चुस्त र प्रभावकारी भएको भन्दै भ्रष्टाचार शून्य रहेको उल्लेख गर्नुभयो । पालिकाको सभा हलमा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी द्वारिका प्रसाद घिमिरेले पालिकाको नेतृत्व अब्बल भएकै कारण शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई सहयोग पुगेको बताउनु भयो । सेवाको सिलसिलामा धेरै स्थानीय सरकार सङ्ग सहकार्य गरी काम गरिरहेको भए पनि थुलुङ दुधकोशी गाउँपालिकाको नेतृत्व र यहाँका जनप्रतिनिधि उदाहरणीय पाएको भन्दै धन्यवाद समेत दिनुभयो ।
सुनुवाइको प्रश्नोत्तर सत्रमा बोल्ने अधिकांश नागरिकले स्थानीय सरकारले चौतर्फी क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै नेतृत्वको प्रशंसा गरेका छन् । कार्यक्रममा सहभागी वृद्ध वृद्धादेखि युवा सम्मले पालिकाले विकास निर्माण र सेवा प्रवाहमा सबै भन्दा उत्कृष्ट काम गरेको भन्दै सन्तुष्टि प्रकट गरेका छन् । उनीहरूले खानेपानी, कृषि र आन्तरिक पर्यटनको क्षेत्रमा थप प्रभावकारी काम गर्न सुझाव दिएका छन् । सहभागीहरूको सवालको जवाफ दिँदै पालिका अध्यक्ष राईले जनताले उठाएको माग आगामी आर्थिक वर्षकै कार्यक्रम र बजेटमा समावेश गर्ने र जनताको अधिकारका लागि २४ सै घण्टा खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा पालिकाका निर्वाचित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विब्यस अध्यक्ष, प्रधानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया