×

थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधन सुरु

मंसिर १२, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा अर्गानीक कफी प्रशोधन सुरु भएको छ । इको हिमाल नेपालको समन्वयमा द ग्लासियर ट्रष्ट बेलायत र थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा कफी प्रशोधन सुरु भएको हो ।

कफी प्रशोधनको लागी आवश्यक भौतिक संरचना सहितको तयारी पुरा गरि मंगलबार देखि प्रशोधन परीक्षण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।उक्त परीक्षण सफल भएकाले अब व्यवसायिक उत्पादन हुने उहाँको भनाई छ । उहाँका अनुसार हालको संरचना अनुसार दैनिक २०० देखि २५० केजी सम्म प्रशोधन हुने छ । हाल प्रशोधन भइरहेको प्याकेजिङ, लेबलिङ गरि ब्राण्डिङ सम्मको काम थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा हुने प्रवक्ता कार्कीले बताउँनुभयो ।

प्रशोधन गरिएको कफीलाई ब्रान्डिङ गरि विश्व बजारमा पुर्याइने गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । यस अघि बेलायत तथा जर्मन लगायतको देशमा थुलुङ दुधकोशी ७ र ८ मा उत्पादन हुने कफीको नमुना परीक्षणको लागी पठाइएको भन्दै अध्यक्ष राईले विश्वमानै उच्च गुणस्तरको रहेको पाइएपछि प्रशोधनको तयारी अघी बढाएको बताउँनुभयो । थुलुङ दुधकोशी सहित सोलुखुम्बु जिल्लामा उत्पादन हुने कफीको ग्रेडिङ गरि प्रशोधन गरीने भन्दै अध्यक्ष राईले ढुक्कसाथ उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
थुलुङ दुधकोशी कफीको न्यूनतम समर्थन मुल्य तोक्ने पहिलो स्थानीय सरकार

थुलुङ दुधकोशो गाउँपालिकाले देशमै पहिलोपटक स्थानीय सरकारको तर्फबाट न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जनाएको छ । गाउँपालिका भित्र उत्पादन भएको अर्गानीक कफीको न्यूनतम समर्थन मूल्य तोकेर खरिद समेत गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रति के.जी. ८० देखि ५०० सम्म मुल्य निर्धारण गरेको अबस्थमा थुलुङ दुधकोशी गाउँपालिकाले भने निर्यातमा प्रतिवन्ध लगाउँदै न्यूनतम समर्थन मुल्य तोकेर प्रति के.जी. ६०० मुल्यमा कफी खरिद गरेको थियो ।

गाउँपालिका र इको हिमाल नेपालको सहलगानीमा करिब ३ मेक्ट्रिकटन अर्गानीक कफी खरिद गरि भण्डारण गरिएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।कफी र उपकरण खरिदको जिम्मा देउसा कृषि बन श्रोत केन्द्रलाई दिइएको थियो ।

गाउँपालिका नेतृत्वको भिजन तथा कृषि एवम् कृषक प्रतिको सद्भावका कारण गाउँपालिका केन्द्रमा कफी प्रशोधन सुरु भएको कृषि बन श्रोत केन्द्रका अध्यक्ष तिलक बहादुर राईले बताउँनुभयो ।उहाँले बास्तबिक जनता प्रति समर्पित जनप्रतिनिधि हुँदा आम नागरिकले महशुस गर्नेगरि काम हुने भन्दै थुलुङ दुधकोशीको लागि मात्र नभइ सिंगो सोलुखुम्बुको लागी यो प्रशंसायोग्य कार्य भएको भन्दै यस बाट रोजगार समेत सृजना हुने हुँदा यहाँका नागरिकको आयआर्जन वृद्धिमा कोशेढुंगा सावित हुँने बताउँनुभयो ।

हाल गाउँपालिकाको करिब २००० रोपनी क्षेत्रफलमा कफी खेति हुँदै आएको गाउँपालिका कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख डिल्लुनाथ योगीका अनुसार हाल करिब ८ टन कफी उत्पादन हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: