थुलुङ दुधकोशीको जंगलमा लागेको आगो गाउँ पस्दा ९ घर खरानी, पालिकाले ५० हजार नगद सहित अन्य राहत सामाग्री दिने
एकद्धार प्रणाली मार्फत राहत प्रदान गरिने
सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पन्चनका आगलागी पीडितलाई आर्थीक सहित अन्य आवश्यक सामाग्री राहत दिने निर्णय गरेको छ । बिहिबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा जुम मार्फत बसेको कार्यपालिका बैठकले आर्थिक सहित अन्य सामाग्री दिने निर्णय गरेको हो ।
जंगलमा लागेको आगो बुधबार गाउँ पस्दा वडा नम्बर ३ को ९ घर जले पुर्णरुपमा नष्ट भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मानिस बस्दै आएको तीनवटा घर र मानिस नबस्ने सात घर जलेर पुर्णरुपमा नष्ट भएको छ । यस्तै गाईगोठ र बाख्राको खोर जेलेको छ भने केही चौपाय समेत जलेर घाइते भएका छन् ।
मानिस बसीरहेको तीनघर परिवारलाई प्रति परिवार रु.५० हजार नगद सहित जस्तापाता, खाद्यन्न, लत्ताकपडा सहितको प्याकेजमा राहत प्रदान गरिने कार्यपालिका बैठकले निर्णय गरेको प्रवक्ता कार्कीले बताउँनुभयो । उहाँका अनुसार अन्य सात घर परिवारलाई प्रति परिवार रु.२५ हजार नगद राहत प्रदान गरिने छ ।
तीन घर परिवारलाई बासको समेत समस्या भएकाले बिहिबारनै जस्तापाता सहित अन्य आवश्यक सामाग्री हस्तान्तरण गरिने पालिकाले जनाएको छ ।
एकद्धार प्रणालीमार्फत राहत प्रदान गरिने
आगलागी पीडितलाई एकद्धार प्रणालीमार्फत राहत प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।जसको लागी संबन्धित वडाका वडा अध्यक्ष इन्द्रमणी दाहालको संयोजकत्वमा तीन सदस्य राहत वितरण तथा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यमा वडा नम्बर दुईका वडा अध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोगक युजन बस्नेत र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की सदस्य रहने बताइएको छ ।
उक्त समितिले आगलागी पीडितलाई राहत सामाग्री उपलब्ध गराउन इच्छुक सबै संग समन्वय गर्ने र वितरणको लागि आवश्यक व्यवस्था गर्ने बताइएको छ ।
जंगलको डढेलो गाउँ पसेपछि खरको छाना भएको अधिकांश घरमा क्षति भएको छ । उक्त आगो नियन्त्रण गर्नकालागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयबासी र जनप्रतिनिधि लगायत खटेका थिए । बैठकले आगो नियन्त्रणमा खट्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । आगलागी जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबैजना सचेत हुनुपर्ने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया