×

थुलुङ दुधकोशी गाउँपालिकालाई मेरो कित्ता अनलाइन प्रणाली हस्तान्तरण

चैत्र २७, २०८० | दाक्सु मिडिया सम्वाददाता


सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकालाई जिल्लाको नापी कार्यालयबाट प्रदान गरिने सेवाहरु हस्तान्तरण गरिएको छ । जिल्ला नापी कार्यालय, सोलुखुम्बुका प्रमुख श्री प्रमोद गुरागाईँले एक कार्यक्रमका बिच थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई नापी विभागका तर्फबाट अनलाइन मेरो कित्ता प्रणालीको आईडी र पासवर्ड हस्तान्तरण गर्नुभएको छ । यसबाट गाउँपलिकाले नक्सा प्रिन्ट, फिल्ड बुक उतार तथा प्लट रजिष्टर उतारको कार्य गाउँपलिकाबाटै हुने ‍जानकारी नापी कार्यालय प्रमुख प्रमोद गुरागाईँले दिनुभयो ।
गाउँपालिकाले प्रदान गर्ने सेवाहरु प्राप्त गर्नको लागि सेवाग्राहीले निवेदन, जग्गाको सम्बन्धित जग्गाको लालपुर्जा तथा नागरिकताको प्रतिलिपी सहित तोकिएको दस्तुर बुझाएपछि सेवा प्राप्त गर्न सकिने गाउँपालिकाले जनाएको छ । प्रयोगकर्ताले अनलाइन प्रणालीबाट प्राप्त हुने सेवाहरु सम्बन्धित वडाबाट पनि प्राप्त गर्न सक्ने प्रणालीको विकास गरिने गाउँपालिकाले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा यो प्रणालीबारे जानकारी दिँदै नापी प्रमुख गुरागाईँले अनलाइन प्रणालीबाट नक्सा प्रिन्ट गर्ने कार्य आवेदन स्वीकृत भएपछि १५ दिनभित्र गरिसक्नुपर्ने र यो प्रणालीबाट प्राप्त नक्सा आधिकारिक हुने जानकारी गराउनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बु जिल्लाको भू-उपयोग योजना निर्माण गर्ने पहिलो गाउँपालिका हो भने मेरो कित्ता प्रणाली लागू गर्ने पहिलो गाउँपालिका बनेको छ ।
प्रणाली हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले प्रथम कार्यकाल भौतिक निर्माणको समयावधी भएको र दोस्रो कार्यकाल पुराना पुर्वाधार निर्माणको निरन्तरता तथा कार्यालयको सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने र कार्यालयको सफ्टवेयर निर्माणको समय रहेकोमा यस प्रणाली हस्तान्तरणले नागरिकलाई अझ नजिकबाट सेवा प्रदान गर्न सकिने भएकोमा खुशी व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: