×

थुलुङ दुधकोशी:वडा नं-७ का बालकक्षा शिक्षक र प्रधानाध्यापकहरुका लागि कम्प्युटर तालिम सुरु

माघ ११, २०८० | दाक्सु मिडिया

सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा बाल कक्षा शिक्षक र प्रधानाध्यापक लक्षित कम्प्युटर तालिम सूरु भएको छ । वडा कार्यालयको आयोजनामा बाल कक्षा शिक्षक र प्रधानाध्यापकको लागि उक्त तालिम सूरु भएको हो ।

बिहिबार देखि सूरु भएको उक्त तालिममा वडा भित्र सञ्चालित एक माध्यमिक सहित ५ वाट आधारभुत विद्यालयका शिक्षकहरु सहभागी हुने वडा सदस्य सरिता राईले जानकारी दिनुभयो । वडा सदस्य राईका अनुसार तालिममा बाल कक्षा शिक्षक र प्रधानाध्यापक गरि १३ जनाको सहभागीता रहनेछ । विद्यालय सञ्चालन अवधिलाई मध्यनजर राख्दै बिहान बेलुकाको समयमा तालिम सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

सूचना तथा प्रविधिमा शिक्षक अझ बढी दक्ष हुनुपर्ने भएकाले उक्त तालिम सञ्चालन गारिएको वडा अध्यक्ष भोजराज कार्कीले बताउँनुभयो । शिक्षा दिने गुरुहरु सबै क्षेत्रमा अब्बल नभएसम्म शैक्षिक गतिविधिले पुर्णता पाउन मुस्किल पर्ने निश्कर्ष सहित वडा कार्यालयले तालिम सञ्चालन गरेको उहाँको भनाई छ।

तालिम सञ्चालनको लागि छुट्टै बजेट नभएपनि प्रशासनिक शिर्षकबाट व्यवस्थापन गरिने बताइएको छ । यस्तै वडा भित्रका सबै शिक्षकलाई कम्प्युटर तालिम दिने लक्ष्य रहेको वडा अध्यक्ष कार्कीको भनाई छ । प्रविधिमैत्री कक्षा सञ्चालनको लागि आवश्यक सीप सिकाएर सामाग्री उपलब्ध गराईने उहाँको भनाई छ ।

विगत केही वर्ष अघिनै विभिन्न विद्यालयमा कम्प्युटर उपलब्ध भएपनि शिक्षक संग आवश्यक सीप नहुँदा त्यतिकै थन्क्याएर राखेको भन्दै देउराली आधारभुत विद्यालयका प्रधानाध्यापक उत्तम घिमिरेले वडाले सञ्चालन गरेको तालिम अति महत्वपुर्ण रहेको बताउँनुभयो । थुलुङ दुधकोशी–७ देउसाले शिक्षा क्षेत्रमा चालेका कदम प्रभावकारी रहेको भन्दै देउसा माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर के.सी.ले सीपले मानिसमा निखारता ल्याउने बताउँनुभयो । वडाले तालिम दिनेभएपछि शिक्षकहरु हर्षित भएका छन् ।file foto

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: