×

दुधकोशी पारी फसेका सवारी साधन कोशी तार्ने काम सुरु

भदौ १७, २०८०

थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा दुधकोशी पारी फसेका जीप तथा सुमो लगायतका सवारी साधन अस्थायी तुइन निर्माण गरी कोशी तार्ने काम सुरु भएको छ ।
दुधकोसी नदीमा आएको बाढीले थुलुङ दुधकोसी र सोताङ जोड्ने दिप्लीघाटस्थित बेलिबृज बगाएपछि कोशी पारीका गाउँपालिका सोताङ र महकुलुङ क्षेत्रमा फसेका करिब ४० बढी सवारीसाधन तार्ने काम सुरु भएको थुलुङदुधकोशी गाउँपालिकाका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष असिम राईसहितको टोलि गत साता स्थलगत निरीक्षणमा पुग्दा सवारी चालकहरुले सोताङ महाकुलुङ क्षेत्रमा फसेका आफ्ना सवारीसाधन देउसा तर्फ तार्ने बैकल्पिक ब्यबस्था मिलाइ दिन अग्रह गरेका थिए । यातायात व्यवसायीको सो गुनासो र आग्रह सम्बोधन गर्दै पालिका अध्यक्ष राईले तत्काल कार्य सुरु गर्न पालिकाका कर्मचारीलाई निर्देशन दिनुभएको थियो भने प्रधानमन्त्रीलाई टेलिफोन मार्फत जानकारी दिनुभएको थियो ।
अध्यक्ष राइको सोही निर्देशन अनुसार कार्य अघि बढाइएको र आज एउटा जिप कोशी तार्न सफल भएको गाउँपालिका प्रबक्ता कार्कीको भनाई छ । कार्कीले इच्छुक सबै यातायात व्यवसायीलाई आफ्नो सवारी साधन तार्न आग्रह पनि गर्नुभएको छ ।
दिप्लीघाटको स्थलगत निरीक्षण पछि रातारात काठमाण्डौ आउनुभएका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षको नेत्तृत्वमा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङ र थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता भोजराज कार्की सहितको टोली प्रधानमन्त्री कार्यालयमा पुगेको थियो । समस्याको दीर्घकालीन समाधान खोज्न अध्यक्ष राईसहितको टोली सिंहदरबार धाउने क्रम जारी रहेको छ । बेलिबृज स्थापनाको लागि प्राविधिक टोलिले आइतबारबाट स्थलगत अध्ययन थालेको छ । टोलीले एक हप्ता भित्र लागत स्टामेटको काम सक्ने बताइएको छ ।
 
स्थानीय सरकारले यातायात व्यवसायी तथा कोशी पारीका नागरिकको समस्या प्रती गम्भीरताका साथ काम गरेको यातायात व्यवसायी कृष्ण तामाङले बताउँनुभयो । विशेष गरी थुलुङ दुधकोशी गाउँपालिकाको तदारुकता र पहलकदमीको लागी यातायात व्यवसायीले धन्यवाद दिने गरेको उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: