×

अनेरास्ववियुको अध्यक्षमा दाबी नगर्ने उपाध्यक्ष पाण्डेको घोषणा

फाल्गुन २, २०७९ | दाक्सु मिडिया

अनेरास्ववियुका उपाध्यक्ष यम पाण्डेले सङ्गठनको अध्यक्षमा दाबी नगर्ने बताएका छन् । साथै उनले विद्यार्थी राजनीतिबाटै बिदा लिने घोषणा गरेका छन् । 

अनेरास्ववियुको आज फागुन २ बाट सुरु हुने २३ औँ महाधिवेशनमा धेरैजसो विद्यार्थी नेताहरूले अध्यक्षको दाबी गरे पनि पाण्डेले भने विगतको प्रतिबद्धता अनुरूप आफूले कुनै पदमा उम्मेदवारी नदिने विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन् ।

‘२०७८ साल असोजमा सङ्गठन पुनर्गठन गर्दा गरेको प्रतिबद्धता बमोजिम नै २३औँ महाधिवेशनमा मेरो कुनै पदमा उम्मेदवारी नरहने र विद्यार्थी सङ्गठनबाट बिदा लिने निर्णय गरेको छु’, पाण्डेले भनेका छन् । 

भरपर्दो र लोकप्रिय सङ्गठन अनेरास्ववियु २३औँ महाधिवेशन आज देखि काठमाण्डौंमा सुरु हुदैंछ । हाम्रो सङ्गठनको आन्तरिक जीवनमा मात्र होइन समग्र नेपाली विद्यार्थी आन्दोलनलाई समेत स्पष्ट दिशा बोध गर्ने हिसाबले पनि यो महाधिवेशन महत्त्वपूर्ण, स्मरणीय र ऐतिहासिक हुनेछ । मौलिक अधिकारका रूपमा संविधानमा उल्लेख भएको निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न, विद्यालय र विश्वविद्यालयहरू सुधार गर्न र डरलाग्दो ढङ्गले उच्च शिक्षा हासिल गर्न विदेश जाने र उतै पलायन हुने दर र प्रवृत्ति रोक्न विद्यार्थी सङ्गठनहरूको निर्णायक हस्तक्षेपकारी पहलकदमी हुन जरुरी छ । नीति तथा विधान महाधिवेशन सम्पन्न भइसकेको हुनाले २३औँ राष्ट्रिय महाधिवेशन मूलतः नेतृत्व चयनमा केन्द्रित हुनेछ । हिजो पञ्चायती व्यवस्थाको विरुद्ध भूमिगत कालमा वा २०६२÷६३ सालको जनआन्दोलन ताका जस्तो राजनीति आन्दोलनमा होमिनु परेका कारण विद्यार्थी जीवन पश्चात् पनि विद्यार्थी वर्गको प्रतिनिधिका हिसाबले विद्यार्थी सङ्गठनलाई नेतृत्व प्रदान गर्ने परिपाटी हो । तर नयाँ पुस्ता जबरजस्त राजनीतिमा आउन खोजेको अहिलेको सन्दर्भमा हामी गैर विद्यार्थीहरू ले विद्यार्थी सङ्गठन कब्जा गरेर बस्ने हो भने समयले हामीलाई कुरेर बस्दैन । अब विद्यार्थीहरूको सङ्गठन विद्यार्थीहरूलाई नै नेतृत्व गर्न दिनु पर्छ । अनेरास्ववियु मात्र हैन पार्टी सबै जनसङ्गठनहरू जुन वर्ग÷पेसा÷समुदायको हक, हित र अधिकारका लागि स्थापना भएको हो त्यही समुदायको असली प्रतिनिधिबाट नेतृत्व प्रदान गर्दा उद्देश्य हासिल हुन सक्छ । जनताको बहुदलीय जनवाद जस्तो नेपाली समाजलाई नेतृत्व गर्ने विचार र केपी शर्मा ओली जस्तो आजको युग सुहाउँदो नेता भएको हाम्रो पार्टीमा नयाँ पुस्ता प्रवेश गर्ने बिन्दुमै छेकबार लगाउने ट्रेन्डले सुखद नतिजा दिँदैन । साङ्गठनिक हिसाबले आजको पुस्ताले विकल्प खोज्न सक्छ । निकट विगतको प्रतिनिधिसभा निर्वाचनमा पनि त्यस खालको सङ्केत प्रकट भएको छ । 

अनेरास्ववियुको आज देखि सुरु हुने महाधिवेशनले पनि विद्यार्थी सङ्गठनको नेतृत्वमा विद्यार्थीहरू नै आउन भन्ने कुरामा जोड दिनेछ । विभिन्न भूगोल र विश्वविद्यालयबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनिधि साथीहरूले मूल नेतृत्व, पदाधिकारी मात्र हैन केन्द्रीय कमिटी र आयोगहरू समेतमा नेता छनौट गर्दा नेतृत्वमा आउन इच्छुक नेताहरू विद्यार्थीको दैनिक समस्या समाधानमा शैक्षिक संस्थामा उपस्थित हुन्छन् की हुन्नन् ? विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुको पाठ्यक्रम, भर्ना, परीक्षा, रिजल्ट र अध्ययन-अध्यापन लगायतका शिक्षा र विद्यार्थी सम्बन्धी तमाम मामिलामा अपडेट छन् की छैनन् ? यी र यस्ता विषयमा ध्यान दिनै पर्छ । हुन त प्राप्त विकल्प मध्ये तै बेसेक नेतृत्व छान्नु बाध्यता पनि छ । हाम्रो पुस्ता खासगर  पाको छ, खारिएको छ, विद्यार्थी आन्दोलनमा योगदान गरेको छ, आफ्नो जवानीको एक देखि दुई दशक यही आन्दोलनमा बिताएको, सबै छ तर अहिलेका १८ देखि २८ वर्ष उमेर समूहका विद्यार्थीको बारेमा अपडेट छैनौँ की जस्तो लाग्छ ।

महाधिवेशन उद्घाटनको यस क्षणमा आइपुग्दा कमरेड सुनिता बरालको नेतृत्वमा हामीले १५ महिना यो नेकपाको गठन र विघटनले थलिएको, अस्तव्यस्त भएको सङ्गठनलाई साङ्गठनिक हिसाबले पनि र नीति तथा विधान महाधिवेशनका माध्यम बाट नीति तय गर्ने एवम् विधान निर्माण गर्ने हिसाबले केहि कामहरू गरेका छौँ । शैक्षिक समस्या समाधानका हिसाबले पनि शैक्षिक संस्था एवम् विश्वविद्यालयमा तालाबन्दी  लगायतका विकृतिहरूको सशक्त प्रतिवाद गर्ने जस्ता सुधारका प्रयासहरू पनि भएका छन् । 

२०७८ साल असोजमा सङ्गठन पुनर्गठन गर्दा गरेको प्रतिबद्धता बमोजिम नै २३औँ महाधिवेशनमा मेरो कुनै पदमा उम्मेदवारी नरहने र विद्यार्थी सङ्गठनबाट बिदा लिने निर्णय गरेको छु । छत्रदेव ७ अर्घाखाँची भुस्खातमा रहेको सरस्वती माविमा प्राकमा संगठीत भएदेखि लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियुमा २०६२ सालमा  अनेरास्ववियुको प्यनल सहित सचिव पदमा विजयी र  अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित भएपश्चात रुपन्देही जिल्ला, तत्कालीन लुम्बिनी अञ्चल कमिटी र हालको लुम्बिनी प्रदेश कमिटीलाई नेतृत्व प्रदान गर्ने अवसर प्राप्त भयो । यसका लागि विभिन्न कालखण्डमा सहयोग गर्ने सबै सबै अग्रज, सहयोद्धा र सम्पूर्ण साथीहरू प्रति सम्मान व्यक्त गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: