
ललितपुर महानगरपालिका भित्रका सबै विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रूपमा पढाइ हुने भएको छ।
ललितपुर महानगरले सडक सुरक्षा शिक्षा शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान औपचारिक रूपमा कक्षाकोठाबाट नै प्राप्त गर्ने भएका हुन्।
सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा विद्यालयबाट नै प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गरेको छ।
उक्त पुस्तकको सोमबार कलाकार मदनकृष्ण श्रेष्ठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र विभिन्न विद्यालयका २० जना विद्यार्थीले एकसाथ विमोचन गरे।
कलाकार मदनकृष्ण श्रेष्ठले सडकमा ट्राफिक नियम पालना गर्नु सभ्य नागरिकको परिचय भएको भन्दै यो पुस्तक दक्षिण एसियामा पहिलो भएको दाबी गरे। ‘जसले कानुन मान्छ त्यो स्मार्ट हो, कानुन उल्लंघन गर्ने असम्य हुन्,’ उनले भने,‘ ट्राफिक नियम पालना गराउन सिकाउन यो पुस्तक दक्षिण एसियाकै पहिलो हो।’
पुस्तक आधारभूत तहसम्म लागू गर्ने गरी तयार पारिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया