
६ असार, काठमाडौं । लामो समयदेखि प्रतीक्षित सेवा विस्तार अन्ततः निष्कर्षमा पुगेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाको निरन्तर प्रयास, समन्वय र पहलका कारण अब कोशीपारी क्षेत्रका बासिन्दालाई सल्लेरीसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुँदैछ।
मालपोत तथा नापी सेवा अब सोताङमै उपलब्ध हुने भएको छ। हाल यो सेवा सुरु गर्ने अन्तिम तयारी अन्तिम चरणमा पुगेको छ। यस सम्बन्धमा शनिबार जिल्ला प्रशासन कार्यालयमा मालपोत र नापी प्रमुखसहित जिल्लाका सबै राजनीतिक दल र जनप्रतिनिधिहरूको बैठकबाट आवश्यक निर्णय गरिने भएको छ।
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङका अनुसार आगामी श्रावण महिनादेखि सोताङमै सञ्चालनमा आउने तयारीमा छ। यसले महाकुलुङ, सोताङलगायत कोशीपारीका अन्य क्षेत्रका जनताका लागि सहजता ल्याउनेछ, समय र खर्चको बचतसमेत हुनेछ।
सामान्य सेवाका लागि समेत दुर्गम पहाडी बासिन्दाले सल्लेरीसम्म लामो यात्रा गर्नुपर्ने बाध्यता हटाउँदै स्थानीय तहमा सेवा विस्तार हुनु आफैंमा ऐतिहासिक उपलब्धि हो।
स्थानीय सरकारको पहल, राजनीतिक सहकार्यमा सम्भव भएको यो उपलब्धिले कोशीपारी क्षेत्रको विकास र जनजीवन सुधारमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया