
हलेसी तुवाचुङ, खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाको १७औं नगरसभा अन्तर्गत पहिलो बैठक भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख श्री विमला राईज्यूको अध्यक्षतामा सम्पन्न सभामा नगरको आगामी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ।
नगर प्रमुख राईज्यूले पानी, पर्यटन, पूर्वाधार र रोजगारीका क्षेत्रमा केन्द्रित रहँदै समावेशी र दिगो विकासको दिशामा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले नगरवासीको जीवनस्तर उकास्न दीर्घकालीन योजनाहरूमार्फत अगाडि बढ्ने योजना प्रस्तुत गर्नुभयो।
त्यसैगरी, नगर उप–प्रमुख श्री रमेश कुमार राउतज्यूले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ८० करोड १८ लाख ८१ हजार ७ सय १९बराबरको बजेट प्रस्ताव गर्नुभयो। बजेटले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, युवा–रोजगार तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ।
नगरको विधायन समितिका संयोजक तथा वडा नं. २ का अध्यक्ष श्री देवेन्द्र कुमार राईज्यूले आर्थिक विधेयक र विनियोजन विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो। विधेयकहरूमा आर्थिक अनुशासन कायम राख्दै पारदर्शिता र जनउत्तरदायित्वलाई बलियो बनाउने कुरा उल्लेख गरिएको छ।
सभाको अवसरमा नगरको विपद् तथा प्रकोप व्यवस्थापनमा अतुलनीय योगदान पुर्याउने इलाका प्रहरी कार्यालय, हलेसीका इन्चार्ज प्रहरी निरीक्षक श्री हेमन्त राईज्यूलाई धन्यबाद तथा सम्मान पत्र प्रदान गरिएको छ। उहाँले जनधनको सुरक्षाका साथै उद्धार कार्यमा देखाएको समर्पणप्रति नगरवासीले उच्च सम्मान प्रकट गरेका छन्।
नगरसभा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ र उपस्थित जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूले समृद्ध हलेसी तुवाचुङ निर्माणका लागि सहकार्य र प्रतिबद्धता व्यक्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया