
खोटाङ, हलेसी – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाही गाउँका बासिन्दा अब शुद्ध र सुरक्षित पानी पिउन पाउने भएका छन्। दूषित खोलाको पानी उपभोग गर्न बाध्य पिपचाहीका नागरिकलाई अब ‘बायो स्याण्ड फिल्टर’ प्रविधिबाट प्रशोधित सफा पानी उपलब्ध गराइएको हो।
नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक साथमा ‘एक घर, एक फिल्टर’ योजना अन्तर्गत पिपचाहीका २६ घरमा निःशुल्क रूपमा बायो स्याण्ड फिल्टर वितरण गरिएको हो। च्यास्मिटारका वडाध्यक्ष भूपालसिं राईका अनुसार गाउँमा पानीको मुहान त भए पनि त्यो दूषित भएकाले नागरिकहरूमा जलजन्य रोगको जोखिम बढेको थियो।
पिपचाही गाउँभन्दा करिब ८ सय मिटर टाढा पर्ने धामीखोलाबाट ल्याइएको पानी स्थानीय सानो ट्याङ्कीमा जम्मा गरेर वर्षौंदेखि प्रयोग हुँदै आएको थियो। खोलाको पानी अत्यन्त दूषित रहेको भेटिएपछि नगरपालिकाले पहल गरेर हरेक घरमा फिल्टर उपलब्ध गराएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो।
नगरप्रमुख राईका अनुसार, “दूषित पानीकै कारण गाउँलेहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको थियो। अहिले वितरण गरिएको फिल्टरबाट अब करिब २० वर्षसम्म शुद्ध पानी पिउन सकिनेछ।”
शनिबार पिपचाहीको बाल विकास प्राथमिक विद्यालयमा पहिलोपटक उक्त प्रविधिको फिल्टर जडान गरी विद्यालयमा शुद्ध पानी उपलब्ध गराउने कार्य सम्पन्न गरियो। सोही दिन वडा र नगरपालिका प्रतिनिधिहरूको उपस्थितिमा गाउँभरका घरमा पनि फिल्टर वितरण गरिएको हो।
च्यास्मिटार माविमा अघिल्लो वर्ष वर्षात्को पानी संकलन गरेर शुद्ध पार्ने गरी जडान गरिएको सोही प्रविधिको सफलता देखेर यो योजना विस्तार गरिएको उपप्रमुख रमेशकुमार राउतले बताए। “फिल्टरले एक घण्टामा १० लिटर पानी प्रशोधन गर्न सक्छ,” वेष्ट पानी कम्पनीका इन्जिनियर गोकुल दङ्गालले जानकारी दिए, “१० जनासम्मको परिवारका लागि यो पर्याप्त हुन्छ।”
खानेपानीका हिसाबले निकै समस्याग्रस्त क्षेत्र मानिने च्यास्मिटार र पिपचाही लगायत हलेसीका अन्य वडाहरूमा पनि यस्तो प्रविधिको विस्तार आवश्यक देखिएको छ। बृहत हलेसी लिफ्टिङ खानेपानी आयोजना अहिले अलपत्र अवस्थामा रहे पनि स्थानीय स्तरमा गरिएको यस प्रकारको पहलले नागरिकको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
यस किसिमका स्थानीय सहकार्य र प्रविधिको सदुपयोगले ग्रामीण बस्तीमा पानीजस्तो आधारभूत आवश्यकतालाई पूरा गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया