
सोलुखुम्बु : बाढीले क्षतिग्रस्त बनेको ओर्लाङघाटमा ह्युम पाइप राखिएको छ । माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हमु गाउँपालिकाको ओर्लाङघाटमा शनिबार ह्युम पाइप राखेसँगै सल्लेरी— खुम्बु सिधा सडक सञ्जालमा जोडिएको हो । गत साउन ३२ गते थामेमा आएको बाढीका कारण माप्य दुधकोशी र खुम्बु जोड्ने खुम्बु माप्य मितेरी पुल क्षतिग्रस्त बन्दा खुम्बु क्षेत्र सडक सञ्जालबाट विमुख बनेको थियो । १६ वटा ह्युम पाइप राख्ने खर्च खुम्बुपासाङल्हमु गाउँपालिकाले गरेको र दुधकोशी नदि वारी र पारी समेत गरि ३ किलोमिटर नयाँ सडक बनाउने काम माप्य दुधकोशी गाउँपालिकाले गरेको उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो । यस सडक खुलाउनका लागि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईबिच औपचारिक रूपमा सहमति समेत भएको थियो ।
दुधकोशी नदिमा राखेको ह्युमपाइप जेठ मसान्तभित्र निकाल्ने, ढुंगेटार सामुदायिक वन क्षेत्रमा विना अनुमति वन पैदावार, बालुवा, ढुंगाा लगायतको निकासीमा पूर्ण प्रतिबन्ध गर्ने र माप्य दुधकोशी र सोलुदुधकुण्ड नगरपालिकाबिचको समन्वय अन्तरपालिका सहकार्यबाट विकास निर्माणको कार्यलाई अगाडी बढाउने सहमति भएको थियो । लामो समयको समन्वय तथा कामबाट खुम्बुसँग सिधा सडक सञ्चालन गर्न सकेको उपाध्यक्ष राईले बताउनुभयो । यात्राका क्रममा नागरिकले सास्ती भोगिरहेको कुरामा गाउँपालिका चिन्तित रहेको बताउँदै पुल निर्माणको लागि अन्तिम तयारीमा पुगेको बताउनुभयो । सो क्षेत्रको भूगोल भिरालो हुनका साथै बग्ने किसिमको भएकाले भविष्यमा कुनै क्षति नहुने गरी विज्ञटोलिको सुझाव अनुसार सुरक्षित भूगोलमा पुल निर्माण गरिने उपाध्यक्ष राईले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्र खुम्बु आवतजावतमा निकै कठिन भएको गाउँपालिकाले महसुस गरिरहेको बताउँदै स्थायी रूपमा पुल पुनर्निर्माणका लागि सुरक्षित भूगोलको विषयमा विज्ञटोलिसँग पटक– पटक छलफल भएको उपाध्यक्ष राईको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया