×

थुलुङ दुधकोशी र सोलुदुधकुण्डको बेरुजु एक प्रतिशत भन्दा कम, सबैभन्दा बढी लिखुपिकेको ४.६८ प्रतिशत

जेष्ठ १४, २०८१ | दाक्सु मिडिया

थुलुङ दुधकोशी र सोलुदुधकुण्डको बेरुजु एक प्रतिशत भन्दा कम, सबैभन्दा बढी लिखुपिकेको ४.६८ प्रतिशत

     सोलुखुम्बुको दुई स्थानीय तहमा गत वर्षको बेरुजु रकम एक प्रतिशतभन्दा कम देखिएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको बेरुजु रकम एक प्रतिशत भन्दा कम कायम भएको महालेखा परीक्षकको ६१ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

     प्रतिवेदन अनुसार सोलुदुधकुण्ड नगरपालिकाको ०.१४ प्रतिशत बेरुजु रहेको छ भने थुलुङ दुधकोशी गाउँपालिकाको ०.७९ प्रतिशत रहेको छ । सोलुदुधकुण्ड नगरपालिकाको कुल बजेट १ अर्ब  ५४ करोड ४१ लाख २ हजारको लेखा परीक्षण गर्दा २१ लाख ४२ हजार अर्थात् जम्मा बजेटको ०.१४ बेरुजु रहेको छ । 

          थुलुङ दुधकोशी गाउँपालिकाको कुल १ अर्ब ३९ करोड २८ लाख १ हजार लेखापरीक्षणमा बेरुजु १ करोड १० लाख २३ हजार रहेको छ । ०.७९ हो । 

          यस्तै जिल्लामै सबैभन्दा बढी बेरुजु हुने पालिका लिखुपिके गाउँपालिका ४.६८ प्रतिशत बेरुजु रहेको छ । कुल ५३ करोड ९३ लाख ५५ हजार लेखापरीक्षण भएकोमा २ करोड ५२ लाख १८ हजार बेरुजु रकम रहेको छ ।  लेखापरीक्षण रकमको तुलनामा ४.६८ प्रतिशत बेरुजु हो ।

     यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाको कुल १ अर्ब ८ करोड ७४ लाख १४ हजारको लेखापरीक्षण गरिएकोमा ३ करोड १० लाख ६७ हजार बेरुजु रहेको छ । जम्मा बजेटको २.८६ प्रतिशत बेरुजु रहेको छ ।प्रतिवेदन अनुसार माप्य दुधकोशी गाउँपालिकाको ८२ करोड ८२ लाख २ हजार लेखापरिक्षण गर्दा बेरुजु २ करोड ८९ लाख ६० हजार रहेको छ । जुन लेखापरीक्षण अङ्कको ३.५० प्रतिशत हो । 

     महाकुलुङको ९४ करोड ५५ लाख २९ हजार लेखापरीक्षण गर्दा २ करोड ५४ लाख ३५ हजार बेरुजु रकम रहेको छ । प्रतिशतको हिसाबले यो २.६९ हो । 


सोताङ गाउँपालिकाको कुल रकम ८१ करोड ४१ लाख १२ हजारको मा बेरुजु २ करोड २९ लाख ९८ हजार रहेको छ । लेखापरीक्षण रकमको तुलनामा २.८२ प्रतिशत बेरुजु देखिएको छ । 

     प्रतिवेदन अनुसार नेचासल्यान गाउँपालिकाको १ अर्ब ४ करोड ५१ लाख ८९ हजारको लेखापरीक्षणमा २ करोड ३५ लाख २७ हजार अर्थात् जम्मा बजेटको २.२५ बेरुजु देखिएको छ । 

सोलुखुम्बु जिल्लाभर कुल ८ अर्ब १९ करोड ६७ लाख ४ हजारको लेखापरीक्षण गरिएको थियो । जसमा १७ करोड ३ लाख ७० हजार रुपैयाँ बेरुजु रकम रहेको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: