×

सोलुदुधकुण्डको सरसफाई क्षेत्रमा कार्यरत ‘मुना’ लाई समाजको सम्मान

जेष्ठ १०, २०८१ | दाक्सु मिडिया सम्वाददाता

सोलुदुधकुण्ड नगरपालिकाकी सरसफाई तथा वातावरण शाखा प्रमुख मुना खत्री श्रेष्ठ सम्मानित हुनु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको सरसफाई तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै श्रेष्ठलाई दोर्पू नेवार समाजले समाजको २७ औं साधारण सभाको अवसरमा सम्मान गरेको हो ।

श्रेष्ठलाई दोर्पू नेवार समाजको साधारण सभाका प्रमुख अतिथि भलाकाजी राजभण्डारी र अध्यक्ष बुद्धि नारायण श्रेष्ठले सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मानित गर्नुभएको हो ।

सम्मान पत्रमा भनिएको छ सरसफाई र वातावरण संरक्षणका साथमा समाज सेवामा समर्पित रही तपाईले समुदायमा गर्नुभएको अथक मेहनत र कठिन परिश्रमको हामी प्रशंसा गर्दछौं । सरसफाई, वातावरण संरक्षण र समाज सेवामा धेरैको ध्यान नगइरहेको अवस्थामा सोलुदुधकुण्ड नगरपालिकालाई सफा, सुन्दर, स्वच्छ बनाउन श्रेष्ठले खेल्नु भएको भूमिका, आँट र हिम्मतको सम्मान गर्नु पर्ने समाजको ठहर छ ।

सभामा समाजका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले सरसफाई अभियन्ताको रुपमा सम्मानित व्यक्ति मुना श्रेष्ठले उदाहरणीय काम गरेको र वहालाई साथ सहयोग गर्न सके सोलुदुधकुण्ड नगरपालिकाले सरसफाई र वातावरण संरक्षणको क्षेत्रमा नमुना काम गर्न सक्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले सफा र स्वच्छ सोलुदुधकुण्ड नगरपालिका निर्माणका लागि सरसफाईको क्षेत्रमा साथ दिन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

सम्मानित श्रेष्ठ सोलुदुधकुण्ड नगरपालिकाको सरसफाई क्षेत्रमा सक्रिय हुनुहुन्छ । स्थानीय समुदायको जनचेतना अभिवृद्धिका साथमा नगरको फोहोर व्यवस्थापनमा सदा चिन्तित रहने श्रेष्ठले दोर्पू नेवार समाजले गरेको सम्मानले आफूलाई थप उत्प्रेरणा मिलेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: