सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीले आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । आज शुक्रवार वडा कार्यालयमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।
वडा स्तरीय पारदर्शिता र जबाफदेहिता सहितको सवाल जवाफ सार्वजनिक सुवुवाईमा ३ नम्बर वडाले हाल सम्म गरेको कार्य प्रगति प्रस्तुत गर्नुहुँदै वडा अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले आफू निर्वाचित भइसकेपछि विकास निर्माणका कुरामा एकत्रित भएर अगाडी बढेको बताउनुभएको छ ।
११ वटा वडा स्तरीय योजनाहरू मध्ये आठ वटा योजनाहरू सम्पन्न भएको छ भने एउटा योजना सम्पन्न गर्न बाँकी रहेको शेर्पाको भनाई छ । त्यस्तै नगर स्तरीय ७ वटा योजना मध्ये एउटा सम्पन्न भएको छ भने अन्य ६ वटा सम्झौता भई निर्माणको क्रममा रहेको वडा अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिनुभएको छ ।
सरकारी बजेटलाई पारदर्शिताका साथ काम गरेको भन्दै अध्यक्ष शेर्पाले वडाले गरिरहेका कामहरू प्रति नागरिकले आफ्नो सुझाव जुनसुकै बेला पनि दिन सक्ने बताउनुभयो ।
उक्त कार्यक्रममा नागरिकहरूले राखेको गुनासो तथा जिज्ञासाहरूमा वडा अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जवाफ दिँदै वडाको हरेक विकास निर्माणका कुराहरूमा र नागरिकहरूले उठाएको कुराहरूमा आफू अत्यन्तै गम्भीर रहेको र सक्रिय रूपमा लागि परेको बताउनुभयो ।
नागरिकहरूको अन्य केही जिज्ञासाहरूमा सोलुदुधकुण्ड नगरपालिका योजना शाखा प्रमुख राम कुमार खड्का तथा कृषि शाखा अधिकृत पासाङ ग्याल्जेन शेर्पाले जवाफ दिनुभएको थियो । साथै वडाले आर्थिक वर्षको साउन महिनादेखि फागुन १० गते सम्म एक लाख ६८ हजार राजश्व सङ्कलन गरेको वडा कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया