×

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माले आर्थिक वर्ष २०८०÷८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न

फाल्गुन १०, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माले आर्थिक वर्ष २०८०÷८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । वडा स्तरीय पारदर्शिता र जबाफदेहिता सहितको सवाल जवाफ कार्यक्रम सहित वडा कार्यालयमा आज एक औपचारिक कार्यक्रमका साथ दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।
कार्यक्रममा ७ नम्बर वडाले हाल सम्म गरेको कार्य प्रगति प्रस्तुत गर्नुहुँदै वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले वडालाई समृद्ध वडा बनाउनका लागि जनप्रतिनिधि र नागरिक एक अर्काको परिपूरक भएकाले विकास निर्माणको कार्यमा सहकार्य गरी अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।  वडाले हाल सम्म ८ वटा वडा स्तरीय योजनाहरू सम्पन्न गरेको र एउटा योजना सम्पन्न गर्न बाँकी रहेको शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार नगर स्तरीय योजनाहरू तर्फको तीन वटा योजनाहरू सम्पन्न भइसकेको र बाँकी तीन वटा योजना सम्झौता भई कार्यान्वयनमा रहेको छ ,साथै वडा तथा नगर स्तरीय तर्फ योजना सम्झौता हुन ५ वटा योजनाहरू बाँकी रहेका छन । 
सरकारी बजेटलाई पारदर्शिताका साथ काम गरेको पनि अध्यक्ष शेर्पाको दाबी छ । जनप्रतिनिधिले गरेका काम प्रति नागरिकले आफ्नो सुझाव दिन पनि अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथिकोे रुपमा पुग्नुभएका सोलुदुधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले सचेत नागरिकले जनप्रतिनिधिलाई खबरदारीसंगै हरेक काममा सहकार्य र समन्वय गर्न पनि आजको मुख्य आवश्यकता भएको औँल्याउनुभएको छ ।उक्त कार्यक्रममा नागरिकहरूले राखेको जिज्ञासाहरूमा वडा  अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जवाफ दिँदै वडाको विकासका लागि आफू सक्रिय रूपमा लागि परेको बताउनुभयो ।  
उक्त सार्वजनिक सुनुवाइ किन गरिन्छ र यसको मुख्य उद्देश्यको बारेमा सोलुदुधकुण्ड नगरपालिका योजना शाखा प्रमुख राम कुमार खड्काले प्रष्ट पार्नुभएको थियो । सार्वजनिक सुनवाईका क्रममा चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ४ लाख ९८ हजार ३ सय ३८ रुपैयाँ राजश्व सङ्कलन गरेको वडा कार्यालयले जनाएको छ । 
यसैबिच वडा ले आजै ४ जना कर्मचारीहरूलाई सम्मान पनि गरेको छ । वडाको सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर बढुवा भएर नगरपालिका प्रशासन शाखामा जानुभएका  पूर्व वडा सचिव गणेश श्रेष्ठ, गार्मा स्वास्थ्य चौकी मा ३४ वर्ष काम गरेर सेवा निवृत्त हुनुभएका सिनियर अहेब टंक नारायण श्रेष्ठ र शिक्षकहरू प्रकाश श्रेष्ठ, चन्द्र कुमार श्रेष्ठलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: