सेयर बजारको उत्साह एक दिन पनि टिकेन : नेप्से सूचक १३ अङ्कले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ १७

सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । लामो समयसम्म निरन्तर ओरालो लागेको नेप्सेले गत आइतबार आफ्नो ओरालो यात्रा ब्रेक गर्दै १०५ अङ्कको छलाङ मारेको थियो । तर, नेप्सेको यो उत्साह एक दिन पनि टिक्न सकेन । मुलुकमा चुनावी माहौल बनेसँगै उकालो लागेको भनिएको नेप्सेमा पुनः दोहोरो अङ्कको गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको छ । गत आइतबार यस्तो सूचक अधिकतम १०५ अङ्कले बढ्दै २८ सय ८५ विन्दु चुमेको थियो । तथापि, यस दिन यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिरजस्तै रहेको छ । नेप्सेका अनुसार यस दिन ०.३९ अङ्कले बढेको सेन्सेटिभ ८३८.९३ विन्दुमा अडिएको छ । 

यस दिन माइक्रोफाइनान्स र लगानी उपसमूह बाहेकका सबैजसो उपसूचक ऋणात्मक भएका छन् । नेप्सेका अनुसार १३ अङ्कमाथिले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ । आज एक करोड कित्ता भन्दा माथिको सेयर बजारमा ६९ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । जबकि गत आइतबार १०५ अङ्कले बढेको बजारमा ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *