×

रविको पार्टीलाई अब संस्थागत हुने चुनौती

मंसिर ५, २०७९ | दाक्सु मिडिया

अब नयाँ पुस्ताले हिजोको कांग्रेस र कम्युनिस्टलाई आँखा चिम्लेर मान्दैन !

मतदाताले राजनीतिक विश्लेषण गरेर मत दिँदैनन् । विश्लेषण गर्ने काम बेग्लै मानिसको हो । मतदाताले सन्देश मात्रै दिने हुन् । सबै मतदाता परिपक्व भएर, एउटा निर्णय गरेर मतदान गर्दैनन् । जनताको सन्देशलाई पार्टीहरूले बुझ्न सक्नुपर्छ । स्थानीय चुनावमा काठमाडौँमा हेरौँ, गठबन्धन थियो तर मेयरमा नसोचेको परिणाम आयो । योभन्दा ठुलो सन्देश के हुन सक्छ ? 

अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटा नयाँ शक्तिका रूपमा उदाउने देखिएको छ । तैपनि यो पार्टी कांग्रेस, एमाले, माओवादीसरह आउँदैन, यी तीनवटा पार्टीपछि ऊ चौथो पार्टी बन्न सक्ने सम्भावना देखिन्छ । हिजो चौथो पार्टी राप्रपा नेपाल पनि बनेको थियो । केही सिट ल्याउँदैमा राजनीतिक उथलपुथल हुने होइन, यद्यपि यो ठुला स्थापित पार्टीका लागि गम्भीर सन्देश हो ।

पार्टी उही पुरानै हुनुमा कुनै आश्चर्य होइन । संसारमा हरेक चुनावमा पार्टी बदलिँदैन, नेतृत्व र नीति बदलिने हो । हामीकहाँ पुराना दल गतिशील भएनन् । उही पुराना नेता बारम्बार राजनीतिक रंगमञ्चमा देखिए ।

परिवर्तन र आन्दोलन एउटा चरणमा हुन्छ, सधैँ आन्दोलन भइरहनुको कुनै अर्थ हुँदैन । सात साल, ०४६ साल, ०६२÷६३ मा आन्दोलन भए, एउटा देशको ७० वर्षको इतिहासमा यत्रो ठुलो परिवर्तन भएको संसारमा अर्को देश छैन होला । 

परिवर्तनका बेला पार्टीप्रति मानिसमा एक प्रकारको फिलिङ्ग्स हुन्छ, तर देश एउटा सिस्टममा अघि बढ्न थालेपछि जनताले परीक्षा लिन्छन्, एक खालको सन्देश दिन थाल्छन् । सधैँभरि उही पुराना नेता नाचेर हुँदैन, कति नाचिरहने प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल ! नाच पनि बाँदर नचाइभन्दा बढ्ता केही हुन सकेको छैन ।

अहिले जुन राजनीतिक परिदृश्य देखिएको छ, यही नै ट्रेन्ड हो र यो स्थापित हुन्छ भन्ने मलाई लाग्दैन । तर केही गम्भीर सन्देश यसले दिएको छ । पुराना पार्टी होइन, पुरानो नेतृत्व काम लागेन, उनीहरूले आफूलाई परिवर्तन गर्न सकेनन् ।

खुला समाजमा हुने निर्वाचनमा विभिन्न दल उदाउने, स्वतन्त्रहरू आउने भइरहन्छ । युक्रेनमा एक कलाकार राष्ट्रपतिमा आए, जनतासँगै रहेर काम गरिरहेका छन् । पार्टीको झन्डा बोक्ने व्यक्ति नै चुनाव लडेर नेतृत्व गर्न सक्छ भन्ने छैन । 

यत्तिका ठुलो राजनीतिक परिवर्तनपछि पनि नेताले नयाँपन दिन सकेनन् । यसले गर्दा मानिसमा धेरै ठुलो निराशा भयो, योपटक त्यो निराशा अलि बढी प्रकट भएको छ । तैपनि परिणाम धेरै ठुलो असर यसपालि पर्दैन, निर्वाचनको परिणाममा सामान्य फेरबदल आउन सक्छ । यसपालि स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरूले १२–१५ सिटसम्म ल्याउँछन् कि भन्ने मलाई लागेको छ । रविको पार्टी ठुलो शक्ति होइन, पुराना पार्टीलाई विस्थापन गर्न सक्ने हैसियत अहिले ऊसँग छैन, तर यसले के देखाउँछ भने मानिसहरूमा व्यापक असन्तोष छ ।

यसपालि स्वतन्त्र उम्मेदवारले कहीँ एकाध ठाउँमा जित्लान् । काठमाडौँका केही सहरी क्षेत्र, जहाँ पुराना पार्टीदेखि मुक्त युवा मतदाता छन्, उनीहरूको भोट निर्णायक हुने ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाउने देखिन्छ । समग्रमा हेर्दा, रास्वपाको पक्षमा देशव्यापी रूपमा केही न केही समर्थकको एउटा सञ्जाल देखापरेको छ । यस आधारमा भन्दा उसले पाँच–सात प्रतिशत भोट ल्याउन सक्ला । उसले १० प्रतिशत भोट ल्याइदियो भने त्यो धेरै हो । रवि लामिछानेले प्रदेश नचाहिने कुरा गरेका छन्, यो मात्रै उनले गरेको नकारात्मक कुरा हो । उनले गणतन्त्रको विरोध गरेका छैनन् । 

यसपालि रास्वपाको उदयले सकारात्मक काम पनि गरेको छ, उनको भोट राप्रपातिर जान सक्थ्यो । अब राजाको नाम लिएर नेपालमा कसैले भोट पाउँदैन । अघिल्लो चुनावमा राजेन्द्र लिङ्देनले एक्लै जितेको होइन, केपी ओलीको साथले हो । 

नयाँ पुस्ता र नयाँ पार्टी

अहिले पुस्तान्तरण भइरहेको छ, नयाँ पुस्ताले हिजोको कांग्रेस र कम्युनिस्टलाई आँखा चिम्लेर मान्दैन । 

हिजो मतदान गरिसकेपछि मैले एकजना मभन्दा सिनियर व्यक्तित्वलाई भेटेको थिएँ । उहाँले भन्दै हुनुहुन्थ्यो– यसपालि मान्छेको रुचि नयाँ दलप्रति देखिन्छ । कांग्रेस र कम्युनिस्टबाट भएन, उनीहरूले गरेनन् भन्छन् । 

मैले भनेँ– हेर्नुस् सर, हाम्रो पुस्ताले कांग्रेस र कम्युनिस्टलाई प्रमुख दल देख्यो । त्योभन्दा दायाँ–बायाँ नसोच्ने ६०–७० वर्षदेखिको एउटा ठुलो पुस्ता नेपालको राजनीतिमा छ, त्यो पुस्ता त्यसरी नै दिशानिर्देश भएको छ । हाम्रो राष्ट्रिय राजनीतिलाई पार्टीप्रति मोहित कार्यकर्ताले पनि बिगारेका छन् ।

पछिल्लो पाँच–सात वर्षमा नयाँ पुस्ता राजनीतिमा आएका छन् । जुन पुस्ता हिजोको भन्दा धेरै अवस्थाले फरक छ । आजको पुस्तालाई हिजोजस्तो राजनीतिक ओरियन्टेसन हुँदैन, मतदान दिने सम्बन्धमा घर–परिवारको निर्देशन अहिले चल्दैन । हिजो हामी बिबिसी सुन्थ्यौँ, अलिकति मिडियालाई फलो गथ्र्यौं, हिजो मिसन बेस अर्थात् कोही कांग्रेसी, कोही कम्युनिस्ट समर्थक मिडिया थिए । त्यसैको सूचनाका आधारमा हामी अलिकति अभिमुखीकरण भइरहेका थियौँ । तर आज सोसल मिडियाले सूचना दिन्छ । आज पार्टी लाइनका पत्रिका पढेर घरमा छलफल हुँदैन । सोसल मिडियाबाट नयाँ पुस्ता प्रभावित छ । 

समाजमा आइरहेको यही नयाँ गतिलाई हाम्रा पार्टीले समेट्न सकेका छैनन् । त्यसैले नयाँ पार्टी उदाएको छ । यद्यपि यो विकल्प होइन । नयाँ पार्टीको नेतृत्वकर्ता कुन पृष्ठभूमिका हुन् भन्ने पनि हेरिन्छ । ठुलो नाटक गर्न नसक्ने मानिस राजनीतिमा काम छैन । रवि लामिछाने नाटकीय नै लाग्छ मलाई । तर पुरानै पार्टीका पुरानै नेताको नाटकभन्दा नयाँ कलाकार नाटक खेल्न आउनु राम्रै हो । पुराना नेताका नाटक कति हेरिरहने, त्योभन्दा रवि लामिछानेकै नाटक नयाँ पुस्ताले हेर्न खोज्दै छ । पुरानै पार्टीमा आस्था नराखेर मतदाता गतिशील हुनु सकारात्मक पक्ष हो । सबै मानिस सधैँ परम्परागत राजनीतिको पछाडि ज्यान फालेर लागिरहँदैनन् ।

कुनै नयाँ पार्टी स्थापित हुन सबैभन्दा ठुलो चुनौती यो छ कि उसले आफूलाई पार्टीका रूपमा रूपान्तरण गर्नुपर्छ । जो हिजो विवेकशील साझाले सकेन । 

रविको पार्टीलाई अब संस्थागत हुने ठुलो चुनौती छ । केही भोट र सिटले मात्रै पार्टी बन्दैन । राजनीतिमा प्रतिबद्धता चाहिन्छ, केही गहिराइसहितको सैद्धान्तिक आधार पनि चाहिन्छ । टेलिभिजनमा कार्यक्रम चलाउनु वा मिडिया चलाउनुजस्तो होइन, पार्टी चलाउने विषय । मतदातालाई आकर्षण गर्‍यो नयाँ पार्टीले, तर पार्टीलाई संस्थागत गर्न ठूलै चुनौतीको सामना गर्नुपर्छ । 

पुरानाले सिकेनन्

युरोप–अमेरिकामा दुई सय वर्षको इतिहास बोकेको पार्टीलाई विस्थापन गर्न अर्को पार्टी निस्केको छैन । किन अमेरिकामा रिपब्लिकन र डेमोक्र्याट, बेलायतमा कन्जर्भेटिभ र लिबरल पार्टी नै प्रचलित छन् ? किनभने, त्यहाँ पार्टी पुरानो भए पनि नेतृत्वमा नयाँपन आइरहेका छन् ।

हामीकहाँ पार्टी हार्छन् तर नेता हार्दैनन्, उनीहरूलाई जोगाइन्छ । गएको पाँच वर्षको बर्बादीमा दोषी अरू पनि होलान्, प्रमुख दोषी केपी शर्मा ओली नै हुन् । उनी पार्टी अध्यक्ष र मुलुकको प्रधानमन्त्री थिए, त्यतिबेला सरकार र संसद्को गरिमा राख्ने जिम्मेवारी उनको थियो, तर उनले त्यसो गर्न सकेनन् । यत्तिका कमजोरीपछि पनि ओलीबाहेक अर्को छँदै छैन भनेर अहिलेको चुनावमा एमाले अघि सर्‍यो । 

यही परिदृश्यमा यसपालि मिडिया गठबन्धनको पक्षमा देखिए । यसपालि नयाँ दलप्रति मिडिया सबैभन्दा बढी अनुदार देखिए । तर, जनताले नयाँ दललाई देखिरहेको थियो । 

आज मैले पत्रिका हेरेँ, हिजोसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको नामै लिन नचाहने मिडियाले आज नयाँ र उदयीमान भन्ने शीर्षकमा समाचार छापेका छन् । यसपालि मिडिया स्वतन्त्र पार्टीको बारेमा अन्त्यन्त पूर्वाग्रह भएको हो । यहाँ ठुला दलको प्रभावभित्रका मिडिया छन्– कांग्रेसलाई माया गर्ने, माओवादीलाई माया गर्ने, एमालेलाई माया गर्ने, अरुको नामै सुन्न नचाहने । स्थानीय चुनावको भोट ल्याएर मिडियाले गठबन्धनलाई ठुलो देखाए, गठबन्धनले नै जित्छ भनेर उसले भन्न मात्रै बाँकी थियो । जनताले पत्रिका पढेर मात्रै भोट हाल्दैनन् । 

मलाई लाग्छ, यसपालि मतदाताले पुराना नेतालाई पाठ सिकाउन खोजेका छन् । तर पाठ सिक्ने अवस्थामा उनीहरू अझै देखिँदैनन् । ०४८ सालदेखि सत्ताको पेरिफेरीमा रहेका नेताको ठुलो तप्कालाई स्वाट्टै फ्याँक्नुपर्छ । हामीकहाँ ठुलो कमजोरी के हो भने, सिस्टम खुला बनाउने तर त्यसका लागि आवश्यक संस्कार र मूल्य निर्माण नगर्ने प्रवृत्ति हाम्रा ठुला दलमा देखिन्छ, कम्युनिस्ट पार्टीहरूमा यो समस्या छ । 

पहिलो संविधानसभामा ठुलो शक्ति आर्जन गरेको थियो माओवादीले, बिस्तारै ऊ खुम्चँदै आयो, तर नेतृत्व कहाँ चुक्यो भनेर त्यहाँ छलफल हुँदैन, आवाज उठ्दैन । कार्यकर्तालाई पार्टीको दास बनाइन्छ । कि त सिस्टमै बदलेर कम्युनिजम्मा जानुपर्‍यो, नेताले लौरो देखाएर जता लखेट्यो उतै जाने कार्यकर्ता बनाउनुपर्‍यो । होइन भने, जनताको स्वतन्त्रताको सम्मान गरेर राजनीति गर्न पनि सिक्नुपर्‍यो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: