×

माधव नेपाललाई ओली समूहको जवाफः पार्टीका कामलाई रोक्न सक्दैनौं

साउन २२, २०७८ | दाक्सु मिडिया

काठमाडौं, साउन २२ । नेकपा एमालेको माधव कुमार नेपाल समूहले पार्टीका विधान महाधिवेशन लगायतका कामहरु रोक्न गरेको माग संस्थापन पक्षले अस्वीकार गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कसैले भनेकै आधारमा पार्टीको काम नरोकिने बताए।

एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधि तत्काल रोक्न नेपाल पक्षले गरेको आग्रहबारे उनले भने, पार्टीका नियमित कामहरु अगाडि बढ्छन्। छलफल पनि चलिरहन्छन्।

आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने प्रवक्ता ज्ञवालीले बताए ।

उनले छलफलको नाममा आफूहरु अनन्तसम्म पार्टी कामलाई रोक्ने, पार्टी गत्यावरोधमा जाने, स्थानीय चुनाव नजिक आउन थालिसकेकाले त्यसबारेमा कुनै पनि तयारी नहुने, पार्टीको महाधिवेशन गर्नुपर्ने समय नजिक आइसकेकाले त्यसको बारेमा कुनै पनि तयारी नहुने कुराको पक्षमा नरहेको बताए।

उनले भने, सत्तापक्ष आक्रामक रुपमा प्रस्तुत भयो। हुन थालिसक्यो। जनतासँग जोडिएको महत्त्वपूर्ण विषयहरुलाई उल्ट्याउन थाल्यो या विभिन्न खालका जनविरोधी क्रियाकलाप सुरु गर्न थाल्यो। त्यस्तो बेलामा प्रमुख प्रतिपक्षलाई कुनै पनि गतिविधि गर्न नदिइकन हातखुट्टा बाँधेर बस भन्ने कुराचाहिँ नेकपा एमालेको हितको सुझाव होइन। नेकपा एमालेको हितमा नभएको सुझावहरु स्वीकार्य हुने कुरा भएन् ।

ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्णयय गर्दै छलफल थालीसकेको छ । आज मात्रै अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग छलफल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया