×

माधव समूहको बैठकमा सुरेन्द्र र योगेशबाहेक अरु को को छन् उपस्थित ?

साउन २१, २०७८ | दाक्सु मिडिया
madhap nepal

काठमाडौं, साउन २१ । माधव नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक शुरू भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा यस अघि स्थायी कमिटि बैठक बसेको थियो । स्थायी कमिटि सकिएसँगै केन्द्रीय समिति शुरू भएको हो । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

बैठकमा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता भीम रावल उपस्थित भएका छन् भने सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।

नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् ।

यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् ।

समूहका भर पर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् । भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् ।

यस्तै बैठकमा ७० जना भन्दा बढी केन्द्रीय समिति सदस्य सहभागी भएको दावी गरिएको छ ।

माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दियो । यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ ।

बैठकमा बिहान सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयहरुमाथि छलफल हुनेछ। अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टी विभाजनको निर्णय गर्नका लागि नभएको बताएका छन् । माधव नेपाल पक्षका सचिव भीम आचार्यले १० बुँदे सहमतिको आधारमा पार्टी एकता गरिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: