काठमाडौं, साउन २०। लुम्बिनी प्रदेशको सांसद विमला वली फेरी माओवादी केन्द्रमै फर्किएको बताउनुभएको छ ।
केही दिन अघि नेकपा एमालेमा फर्किएको भन्दै उहाँको हस्ताक्षर भएको पत्र सार्वजनिक भएको थियो ।
त्यसपछि माओवादीले ओलीलाई एमाले सहित मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको आरोप लगाएको थियो ।
तर एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ हुनुभएकी उहाँ बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित हुनुभएको छ ।
माओवादी संसदीय दलका एक सदस्यका अनुसार उहाँ आफैं पार्टीको सम्पर्कमा आउनुभएकी हुन् ।
विमलाले केही घण्टा आराम गरेर आज दिउँसो नै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने आफूहरुसँग बताएको माओवादी संसदीय दलका एक सदस्यले बताउनुभयो ।
विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ । प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया