×

सुमेरु ग्रुपको सम्पत्तिमा ठूला सहकारी ठगीमा संलग्न तीन समूहले लुछाचुँडी

माघ १५, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – भरत महर्जनको समूहले ३७ हजारभन्दा बढी सर्वसाधारण बचतकर्ताको रकम संकलन गरी खडा गरेर दुरुपयोग गरेको सुमेरु ग्रुपको सम्पत्तिमा अहिले अन्य ठूला सहकारी ठगीमा संलग्न तीन समूहले लुछाचुँडी गरिरहेको पाइएको छ ।

जनताको पैसाले खडा भएको १५ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति हत्याउन सोही सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जन र वर्तमान अध्यक्ष हेमराज दाहालको समूह, देउराली सहकारी सञ्चालक रविन्द्र चौलागाईंको समूह र गतिशील सहकारी सञ्चालक तथा राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष डा. बलराम पाठक समूहबीच लुछाचुँडी चलिरहेको पाइएको हो ।

जनताको १० अर्ब रुपैयाँभन्दा बढी बचत फिर्ता नगरी सुमेरु सहकारीका सञ्चालक भरत महर्जन बेलायत पलायन भइसकेका छन् ।

सुमेरु ग्रुपअन्तर्गत सुमेरु अस्पताल धापाखेल, सुमेरु सिटी अस्पताल पुल्चोक, एशियन कलेज, शंखरापुर एकेडेमी, सुमेरु हाउजिङ एन्ड डेभलपर्स, सुमेरु मेडिकल कलेज, सुमेरु ग्रुप अफ अर्गनाइजेसन, सुमेरु एग्रो, सुमेरु वृद्धाश्रमलगायत डेढ दर्जन कम्पनी सञ्चालनमा छन् ।

सुमेरुले पछिल्लो एक वर्षभन्दा बढी अवधिदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सञ्चालक समिति र व्यवस्थापक मिलेर १० अर्बभन्दा बढी रकम अपचलन भएको सुमेरुका संस्थापकसमेत रहेका पूर्वअध्यक्ष महर्जन परिवारसहित बेलायत पलायन भएपछि सहकारीमा समस्या सुरु भएको थियो ।

सम्पत्ति हत्याउने उद्देश्यले चौलागाईं र पाठकको समूहलाई सहकारी हस्तान्तरणको असफल प्रयास

बचतकर्ताको निक्षेप फिर्ता बन्द गरी सुमेरु नै सहकारी ठगीका अर्का चर्चित व्यक्ति रविन्द्र चौलागाईं र गतिशील सहकारी सञ्चालक डा. बलराम पाठकलाई बेच्ने प्रयास भरत महर्जन र हेमराज दाहाल समूहले गरेको थियो ।

ललितपुरकै सातदोबाटोमा देउराली बुहउद्देश्यीय सहकारी संस्था मनोमानी सञ्चालन गरी बचकर्ताको करिब ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा चौलागाईं अहिले थुनामा छन् ।

सोही समूहमा राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन अध्यक्ष तथा गतिशील बचत तथा ऋण सहकारीमार्फत जनताको निक्षेप अपचलन गरेका डा. बलराम पाठक पनि थिए । चौलागाईं र पाठकको समूहले सुमेरुको सम्पत्ति व्यवस्थापन गर्ने भन्दै निवेदन नै हालेको थियो ।

सोहीअनुरुप ३ फागुन २०७९ मा सुमेरु सहकारीले विशेष साधारणसभा गरेर रविन्द्र चौलागाईंको समूहका कृष्ण कँडेललाई अध्यक्ष बनाएको थियो ।

उनी मात्रै होइन, चौलागाईं पनि सुमेरुको सञ्चालक बनेका थिए । कँडेल देउरालीका सल्लाहकार पनि हुन् । पाठक त्यसबेला राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष रहेकाले सञ्चालक बनेनन् ।

चौलागाईंको समूहलाई महर्जन–दाहाल समूहले सहकारी संस्थाको नेतृत्व मात्रै होइन, पुल्चोकको सुमेरु सिटी अस्पताल र शंखरापुर कलेजको सेयरसमेत हस्तान्तरण गरेको थियो ।

  ती कम्पनीको सेयर नारायणमौसम कुँवर, सूर्य लामा र कृष्णप्रसाद कँडेलको नाममा ट्रान्सफर भएको दस्तावेजमा देखिन्छ । सूर्य लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा (गुन्डा नाइके) निकट रहेको सहकारीमा आबद्धहरू बताउँछन् ।

सुमेरु ग्रुपले कँडेल समूहलाई हस्तान्तरण गरेको कम्पनीको सेयर लगत
सुमेरु ग्रुपले कँडेल समूहलाई हस्तान्तरण गरेको कम्पनीको सेयर लगत

सुमेरु सहकारीसहित सुमेरु ग्रुपका कम्पनी व्यवस्थापन गर्न भनेर अध्यक्ष हेमराज दाहालको समूहले प्रस्ताव गरेपछि आफूहरू त्यसअनुसारको प्रस्ताव लिएर सुमेरुमा प्रवेश गरेको कँडेलको दाबी छ ।

सुमेरु ग्रुपअन्तर्गतका नौ कम्पनी तथा संघसंस्थाको स्वामित्वमा रहेका सम्पूर्ण चलअचल सम्पत्ति र निवर्तमान अध्यक्ष भरत महर्जन र निजको पत्नी र छोराको नाममा रहेका चलअचल सम्पत्ति व्यवस्थापन गरी समस्या समाधान गर्ने गरी आफूहरुले सम्पत्ति तथा दायित्व मूल्यांकन प्रस्ताव पेस गरेको उनले बताए ।

सुमेरु ग्रुपअन्तर्गत नै रहने गरी ६ महिनासम्म दुवै पक्षले एकापसमा सहयोग गरी काम गर्ने र सुमेरु सहकारीमा देखिएका समस्या समाधान गर्ने प्रस्ताव आफूहरूले पेस गरेको उनको दाबी छ ।

सम्पत्ति व्यवस्थापनका लागि सुमेरु सहकारीको सम्पूर्ण निक्षेप विवरण, कर्जा विवरण, सञ्चालक तथा कम्पनीका नाममा रहेका चलअचल सम्पत्ति विवरणसमेत उपलब्ध गराउनुपर्ने आफूहरूको प्रस्ताव गरे पनि महर्जन–दाहाल समूहले त्यो उपलब्ध नगराएपछि आफूहरु त्यसबाट अलग भएको उनको दाबी छ ।

सहकारी सञ्चालकले भने विवरण उपलब्ध नगराउने तर बचकर्ताले आफूहरुलाई नै घेर्ने अवस्था भएपछि आफूले चैत २०७९ मा संस्थाबाट राजीनामा दिएको र जेठ २०८० मा विशेष साधारणसभामार्फत पुरानै सञ्चालक समितिले जिम्मेवारी दिएको कँडेलको दाबी छ ।

तर, अहिले पनि बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको सहकारी महाशाखामा सहकारी सञ्चालक समितिमा कृष्णप्रसाद कँडेल, रविन्द्र चौलागाईंलगायतको समूह नै छ ।

प्रदेशको सहकारी महाशाखामा विशेष साधारणसभाको निर्णय तथा माइन्युट पठाए पनि सञ्चालकहरु फेरिएका छैनन् ।

सुमेरुका अध्यक्ष दाहाल भने एक वर्षमा दुईपटक साधारणसभामार्फत सञ्चालक समिति परिवर्तन गर्न नमिलेका कारण अहिले पनि कानुनीरूपमा कँडेल नै अध्यक्ष रहेको बताउँछन् । यद्यपि, आफूले नै नेतृत्व लिएर काम गरेको उनले बताए ।

कँडेलले हेमराज दाहाल र उनको ग्रुपले केही पनि विवरण उपलब्ध नगराएका आरोप लगाए पनि चैत २०७९ मा नै सुमेरु सिटी अस्पताल पुलचोक र शंखरापुर कलेजको सेयर कँडेल र उनको समूहका नाममा ट्रान्सफर भएको सेयर लगत विवरणले देखाउँछ ।

यसले यी दुई समूहबीचको विवाद देखावटी मात्रै देखिन्छ । यी समूहकै मिलेमतोमा सुमेरुमा जनताको पैसाले जोडेको सम्पत्ति हत्याउने खेल भइरहेको देखिन्छ ।

भरत महर्जन फरार भएपछि सुमेरु सहकारीबाट कम्पनीहरुमा गरिएको ८ अर्ब लगानी अनुमोदन

भरत महर्जन पलायन भएपछि दाहालले नेतृत्व गरेको सञ्चालक समितिले बचतकर्ताको पक्षमा काम गरेको दाबी गरिरहेको छ । तर, यो सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनसँगको मिलेमतोमा उनका कम्पनीहरुमा भएको ८ अर्ब लगानीलाई अनुमोदन गरिदिएको देखिएको छ ।

सहकारीको सञ्चालक समितिले २२ पुस २०७९ मा सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल र एशियन कलेजमा सहकारीबाट भएको करिब ८ अर्ब लगानी अनुमोदन गर्ने माइन्युट गरेको देखिन्छ ।

‘यस संस्थाले श्री सुमेरु ग्रुपअन्तर्गत रहेका संस्थाहरू सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, एशियन कलेज, शंकरापुर कलेजलगायत विगतका विभिन्न मितिमा सुमेरुभित्रका तपसिल अन्तर्गत संस्थाको संस्थामा भएको लगानी रकम अनुमोदन गर्ने निर्णय गरियो,’ सुमेरु सहकारी सञ्चालक समितिको २२ पुस २०७९ को निर्णयमा छ, ‘यस अनुमोदित रकमलाई सम्बन्धित संस्थाले गरेको निर्णयअनुसार धितो सुरक्षण राखी ऋण लगानी गर्ने निर्णय गरियो ।’

उक्त निर्णयअनुसार सुमेरु अस्पताल धापाखेलमा सुमेरु सहकारी धापाखेलबाट ३ अर्ब ८ करोड ४८ लाख ५८ हजार र पुल्चोक शाखाबाट ३६ करोड २० लाख ९१ हजार गरी कुल ३ अर्ब ४४ करोड ६९ लाख  ४८ हजार लगानी अनुमोदन गर्ने निर्णय गरेको देखिन्छ ।

यस्तै सुमेरु सिटी अस्पतालमा २ अर्ब २५ करोड ९५ लाख ३८ हजार र एशियन कलेजमा १ अर्ब ७३ करोड ४२ लाख २१ हजार लगानी भएको भन्दै अनुमोदन गरेर धितो कायम गर्ने निर्णय भएको देखिन्छ । तर, सहकारीका नाममा उक्त धितो कायम भएको छैन ।

उक्त निर्णय सञ्चालक समितिबाट नभएको र पूर्वअध्यक्ष महर्जनले त्यसको कीर्ते कागज बनाएको अध्यक्ष दाहालको दाबी छ । तर, संस्थाका प्रबन्धक धनेन्द्र कट्टेल भने महर्जनलाई दखाउनका लागि उक्त कागज पठाएको बताउँछन् । ‘यस्तो माइन्युट सञ्चालक समितिले ग¥यो भने नेपाल फर्कन्छु भनेर महर्जनले भन्नुभयो, सञ्चालक समितिले त्यो गरेर पठाएको हो, तर उहाँले त्यसको पालना गर्नुभएन,’ जनताको अर्बौं रकम दुरुपयोग भएको विषयमा कट्टेलले हल्काफूल्का टिप्पणी गरे ।

सहकारी स्थापनादेखि नेतृत्व गरेका भरत महर्जनले पछिल्लो समय आएर भने संस्थामा कर्मचारीका रूपमा काम गरेका हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाउँदै आफू आमन्त्रित सदस्यका रूपमा सञ्चालक समितिको प्रतिनिधित्व गर्दै निर्णयहरू गराउन लागेका थिए ।

पुस २०७८ पछि नै सहकारीमा समस्याका संकेत देखिन लागेपछि अध्यक्ष महर्जन परिवारसहित विदेश पलायन भए । सहकारीका बचतकर्ता पनि महर्जन पलायन भएपछि आफ्नो सम्पत्ति जोखिममा छ कि छैन भन्दै सोधिखोजी गर्नतिर लागे । भरत महर्जनकै नेतृत्वमा सहकारीका सम्पूर्ण स्रोत महर्जनसहित सहकारीमा विगतदेखि नै हालिमुहाली गर्दै आएका हेमराज दाहाल, विनोद आचार्य, विकास महर्जन, सुनिल डंगोल, दिलीपकुमार डंगोल, रमेश महर्जन र स्वछन्दा महर्जन सेयरधनी रहेका विभिन्न कम्पनीमा सहकारीको स्रोत दुरुपयोग हुँदै आएको थियो ।

सहकारी ऐन २०७४ अनुसार सहकारी संस्थाको स्रोत सहकारीका सेयर सदस्यबाहेक अरूलाई कर्जा लगानी गर्न पाइँदैन । यस्तै कुनै पनि नाफामूलक संस्थामा सहकारीले कर्जा लगानी गर्न रोक लगाएको छ ।

सहकारी ऐनको धज्जी उडाउँदै सहकारीको स्रोतले महर्जनको नेतृत्वमा अहिलेका अध्यक्ष दाहाल र सचिव आचार्य तथा उनका अफन्तले सुमेरु अस्पताल धापाखेलसहित सातदोबाटोमा सुमेरु मार्ट, शंखरापुर कलेज, एशियन कलेज र पुलचोकमा सुमेरु सीटी अस्पलतालमा सहकारीको स्रोत दुरुपयोग गर्दै गएका थिए ।

सहकारीको बचतकर्ताको पैसाबाट उनीहरूले आफ्नो नाममा खुलेको कम्पनीमा लगानी गर्दै आए । सहकारी अध्यक्ष दाहाल भरत महर्जनले दुई वर्षअघि मात्रै सबै कम्पनीको सेयर आफूहरूको नाममा ट्रान्सफर गरिदिएको बताउँछन् ।

तर, सुमेरु अस्पताल धापाखेलको सेयर लगतअनुसार अस्पताल स्थापना भएको १० साउन २०६९ देखि नै उनीहरु सबै सेयरधनी रहेको देखिन्छ । विनोद आचार्य र स्वछन्द मानन्धरका नाममा भने २०७६ मा सेयर लगत कायम भएको देखिन्छ ।

भरत महर्जन आफू पलायन हुने बेला मात्रै आफूहरूको नाममा थप सेयर हस्तान्तरण गरेको र सुरुमा १ लाख कित्ता सेयर मात्रै आफ्नो नाममा रहेको दाबी दाहालले गरे ।

‘हामी सबैलाई सेयर हस्तान्तरण गर्दा सबै खुसी भएका थियौं । तर, पछि उहाँ पलायन भएपछि हामीलाई फसाउनका लागि उक्त सेयर दिएको भन्ने महसुस भयो,’ एक सञ्चालकले भने, ‘सुमेरु सिटी अस्पताल, शंखरापुर कलेज, एशियन कलेजमा भरत महर्जन एकल सेयरधनी हुनहुन्थ्यो । उहाँले छाडेर हिँड्नुअघि मात्रै हामीलाई सेयरधनी बनाइएको हो ।’

कर्मचारीका नाममा करोडौं ऋण

संस्थापक अध्यक्ष भरत महर्जन पलायन भएपछि पनि संस्थामा थप बदमासी भएको पाइएको छ । संस्थाका कर्मचारीका नाममा २०७९ मा विभिन्न बैंकको चेक धरौटी राखेर थप स्रोत दुरुपयोग भएको देखिन्छ ।

संस्थाका व्यवस्थापक धनेन्द्र कट्टेलका नाममा सहकारीले ५७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । उनका नाममा १७ पुस २०७९ मा एकपटक ४० करोड रुपैयाँ कर्जा गएको देखिन्छ । त्यसका लागि धनेन्द्र कट्टेलले सिद्धार्थ बैंकको एउटा ‘ब्ल्यांक चेक’ धितो राखेका छन् ।

अर्कोपटक १८ माघ २०७९ मा उनले १७ अर्ब ७० करोड रुपैयाँ कर्जा दिएको देखिन्छ । त्यसबापत उनले महालक्ष्मी विकास बैंकको १७ करोड ७० लाख रुपैयाँको अर्को चेकसमेत धरौटी राखेर कर्जा लिएको देखिन्छ । तर, त्यो रकम कहाँ गयो भने सहकारीले खुलाउन सकेको छैन ।

संस्थाको व्यवस्थापक हुँदा आफूहरूले गरेको कर्जा लगानी उठाउने ग्यारेन्टीका लागि उक्त तमसुक र ग्यारेन्टीका लागि चेक दिइएको कट्टेलको दाबी छ ।

त्यसरी लिएको कर्जाको जिम्मा आफूले लिने भरत महर्जनले बताएपछि कर्जाको जिम्मा लिने प्रयोजनका लागि यसो गरिएको कट्टेलको दाबी छ ।

त्यस्तै, संस्थाका अर्का कर्मचारी सुदीप मल्लले १५ करोडको चेक धरौटी दिएर १८ माघ २०७९ मा १५ करोड व्यक्तिगत कर्जा लिएको कागज गरेका छन् ।

यस्तै संस्थाका कर्मचारी अनोज पौडेलले पनि सोही मितिमा १५ करोड रुपैयाँ कर्जा लिएको र कर्जा भुक्तानी सम्झौता गरेको देखिन्छ ।

 सुरुको ४० करोडको कर्जाको कागजात रद्द गराएर तीन जनाको नाममा कर्जाको कागजात बनेको अध्यक्ष दाहालको दाबी छ ।

यस्तै संस्थाकै अर्का कर्मचारी सुदीप मल्लको नामको मेगा बैंकको १५ करोड रुपैयाँको चेक धरौटी राख्दै ८७ करोड रुपैयाँ सहकारीबाट कर्जा लिएको बचतकर्ताको आरोप छ ।

हेमराज दाहाल भने संस्थाको कर्जा उठाउने जिम्मा लिए भरत महर्जनले आफू आउने भनेपछि सोही कर्जा उठाउने ग्यारेन्टीका लागि उक्त कर्जा तीन कर्मचारीका नाममा ऋण गएको देखाएको बताउँछन् ।

धापाखेलका बचतकर्तामा आक्रोश

संस्थाको धापाखेलका बचतकर्ता भने कर्मचारीका नाममा ८७ करोड ७० लाख कर्जा निकालेर अपचलन भएको बताउँछन् । सहकारीमा जम्मा गरेको बचत फिर्ता हुने सुनिश्चितता नभएकाले सञ्चालक तथा पूर्वसञ्चालक विरुद्ध जाहेरी दिनुपरेको धापाखेलका बचतकर्ता सुन्दरकृष्ण महर्जनले बताए ।

‘हामी अहिले यहाँ आएका ३ सय ७३ जनाको २० करोडभन्दा बढी बचत फिर्ता पाउन बाँकी छ । बचत फिर्ताका लागि सहकारीमा माग्न जाँदा सामान्य शिष्टाचार पनि हुँदैन,’ महर्जनको गुनासो छ, ‘सहकारीका बचतकर्ता भए पनि सुमेरुले सञ्चालन गरेको हस्पिटलमा समेत हामीले उपचार पाउन सक्दैनौं ।’

सहकारीको बचत दुरुपयोग गरेर सञ्चालक र पूर्वसञ्चालकका १८ प्राइभेट कम्पनीमा लगानी भएको उनीहरूको दाबी छ । ‘हाम्रो बचत फिर्ता हुने सुनिश्चितता भएन । त्यसैले उनीहरूको सम्पत्ति बेचेर भए पनि हाम्रो बचत फिर्ताका लागि हामीले जाहेरी दिएका हौँ,’ महर्जनले भने ।

सहकारीका संस्थापक तथा पूर्वअध्यक्ष भरत महर्जन सहकारीमा समस्या आएपछि देश छाडेर भागेको पनि एक वर्ष भइसकेको र वर्तमान सञ्चालकबाट केही नहुने देखेपछि आफूहरू बाध्य भएर प्रशासन कार्यालय, सहकारी विभाग, प्रहरी कार्यालय, अदालत धाउनुपरेको अर्का बचतकर्ता रामगोविन्द महर्जनले बताए ।

‘सहकारीले सात–आठ सय करोड फिर्ता गर्नुपर्ने देखिन्छ । सामान्य बचतकर्तासँग औषधि किन्ने पैसा समेत भएन, माग्न जाँदा पैसा छैन भन्छ । सहकारीका सञ्चालक तथा पूर्वसञ्चालकहरू सेवा सुविधा उपयोग गरिरहेको तर जिम्मेवारीबाट पन्छिने गर्छन्,’ उनले भने, ‘आपत परेपछि पूर्वसञ्चालक भरत महर्जन विदेश भागे । हामीलाई थाहै नदिई वर्तमान सञ्चालकले सम्पत्ति बेचेर पैसा अपचलन गर्न थाले । पैसा पाइन्छ भन्ने आश नै भएन । हाम्रो कमाइ सबै त्यहीँ भएपछि हामी त खत्तम भयौं ।’

चारपटक सहकारी रजिस्ट्रार कार्यालय पुग्दा पनि समस्या समाधान नभएको उनीहरूले बताए । सहकारीमा धापाखेलका बचतकर्ताको मात्रै १ अर्ब ८७ करोड फिर्ता हुनुपर्ने उनीहरूले बताए ।

‘सञ्चालक तथा पूर्वसञ्चालकले दर्ता गरेका १८ कम्पनीमा बचकर्ताको पैसा दुरुपयोग भएको छ,’ अर्का बचतकर्ता अशोक दाहालले भने, ‘पैसा छ । भएको सम्पति पनि बेचेर भाग्ने डर छ । विभागमा पनि यही भनेका छौं । पहल भएन । सञ्चालक तथा पूर्वसञ्चालकहरू सम्पत्ति लुकाउन श्रीमतीसँग डिभोर्स गरेरै भए पनि बचतकर्तालाई झुक्याउन लागिपरेका छन्।’

सुमेरु सहकारी अध्यक्ष दाहाल के भन्छन् ?

सहकारी अध्यक्ष दाहाल भने आफूहरू समस्या समाधानमा लागेको दाबी गर्छन् । हालसम्म ३ अर्बभन्दा बढी बचतको समस्या समाधान भइसकेको उनको दाबी छ ।

पुलचोकको संस्थाको गठ्ठाघर र धापाखेल शाखाको समेत कुल ७ अर्ब ३५ करोड २५ लाख ७७ हजार बचत दायित्व रहेकोमा  भदौसम्म ७० करोड ९ लाख ८३ हजार फिर्ता भएर ६ अर्ब ६५ करोड १५ लाख ९५ हजार बाँकी रहेको दाहालले बताए ।

त्यसमा पनि जग्गा स्वाप गरी १ अर्ब ३३ करोड ६५ लाख र  अन्य प्रत्यक्ष अप्रत्यक्ष ७० करोड ९ लाख ८३ हजार घटाउँदा अब ४ अर्ब ६१ करोड ४० लाख ९४ हजार बाँकी रहेको उनले बताए ।

यसबाहेक विभिन्न कम्पनीमा लिएको ऋण दायित्वको १ अर्ब २५ करोड कुमारी बैंक र प्रभु बैंकमा रहेको उनले बताए । अहिले सातदोबाटोको केही जग्गा बिक्री गरी मिलान गर्न रोक्का भएको  उनले बताए । यस्तै धापाखेल अस्पतालको पार्किङको जग्गा पनि बिक्रीका लागि ५५ करोडमा बैना भएर हिसाब मिलान भएको  उनले दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: