×

ताप्लेजुङमा ९३ प्रतिशत कोरोना संक्रमणमुक्त, तीन पालिकामा शून्य

भदौ १५, २०७८ | दाक्सु मिडिया सम्वाददाता

ताप्लेजुङ । कोरोना संक्रमित भएका मध्ये ताप्लेजुङमा करिब ९३ प्रतिशत संक्रमणमुक्त भएका छन् । मंगलवार अपरान्हसम्म सक्रिय कोरोना संक्रमितको संख्या एक सय ६७ मा झरेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकार खड्काकाअनुसार अहिले सक्रिय संक्रमितको तुलनामा हाराहारी ७ प्रतिशत मात्र सक्रिय संक्रमित रहेका छन् । 

कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता दुई हजार चार सय १८ जनामा कोरोना संक्रमण देखिएकोमा दुई हजार दुई सय ३५ जना संक्रमणमुक्त भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कार्यालयकाअनुसार मैवाखोला, मेरिङ्देन र फक्ताङ्लुङ संक्रमण शून्य छ । जिल्ला अस्पतालले परीक्षण गरेकामध्ये ६८ र फुङलिङ नगरपालिका आफैंले परीक्षण गरेकामध्ये ६ गरी फुनपा भित्र ७४ जना सक्रिय कोरोना संक्रमित रहेको प्रशासन कार्यालयको विवरणमा उल्लेख भएको छ । 

आठराई त्रिबेणी गाउँपालिकामा चारजना, मिक्वाखोला गाउँपालिकामा तीनजना, पाथीभरा याङ्वरक गाउँपालिकामा ६० जना, सिदिङ्वा गाउँपालिकामा १४ जना र सिरिजंगा गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये एक सय ५९ जना होम आइसोलेसनमा र चारजना ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा सामान्य रुपले उपचार गराइरहेका प्रशासन कार्यालयले बताएको छ । चारजनलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । 

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङका १६ जना नागरिकले कोरोनाकै कारण ज्यान गुमाएको विवरण प्रशासनसँग  छ ।  तर, प्रशासनले जिल्ला भित्रै मृत्यु भएकाहरुको विवरण मात्र राख्ने गरेको छ । उपचारका लागि जिल्ला बाहिरसमेत गएर मृत्यु भएकाको संख्या जोड्दा यहाँका २२ जना नागरिकले कोरोनाकै कारण ज्यान गुमाइसकेका विभिन्न तथ्यांकबाट देखिन्छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: