×

माधव समूहको भेलाः सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्न सुझाव

साउन २२, २०७८ | दाक्सु मिडिया

काठमाडौं, साउन २२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठक केहीबेर स्थगन गरिएको छ । ७० भन्दा धेरै सदस्यहरु सहभागि भएको उक्त भेलामा ५५ जना भन्दा धेरैले राय तथा सुझाव दिएको बताइएको छ ।

नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । केन्द्रीय समितिका नेताहरुले सुझाव दिएपछि अहिले स्थायी कमिटि बैठक बसेर नेताहरुले छलफल गरिरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरुमा नेताहरुले सम्मानजनक एकता हुनुपर्ने बताएका थिए । अन्यथा विद्राह गर्न या नयाँ पार्टी गठन गर्न उनीहरुको सुझाव छ ।

दशबुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछिका निर्णयहरुले एकता बिथोल्ने काम भएको नेताहरुले बताएका थिए । विशेष गरी ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा नरहेको पुष्टि हुने नेताहरुको भनाइ थियो ।

‘मूल कुरा सम्मानजनक एकता हो । तर एकताको प्रयास कहिलेसम्म भन्ने पनि हुन्छ,’ केन्द्रीय सदस्य निरज आचार्यले भने । एकता वार्तालाई अब धेरै लम्ब्याउन नहुने सुझाव नेताहरुले दिएको उनले बताए ।

यस्तै केन्द्रीय सदस्य मेटमणी चौधरीले बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने बताए ।

उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए ।

स्थायी समिति बैठकपछि केन्द्रीय समिति बैठकको सामूहिक धारणा दिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: